उपाध्यायको गीत ५० भाषामा, मन्त्री चौधरीले हस्तान्तरण गरे ‘विश्व रेकर्ड’को प्रमाणपत्र

10 महिना अगाडी

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले लेखेको एक गीत नेपाली सहित ५० भाषामा तयार पारिएको छ ।

उनले विश्व रेकर्ड कायम गरेको भन्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

उपाध्यायले लेखेको ‘ढुकढुकीभित्र तिम्रो’ बोलको गीतलाई नेपालीसहित ५० भाषामा तयार पारिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषकै स्वर छ । यसैगरी हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ ।

यही गीतलाई नेपाली सहित हिन्दी, जापानी, चिनियाँ, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, उर्दु लगायतका ५० भाषामा तयार पारिएको हो ।कार्यक्रममा मन्त्री चौधरीले डा। उपाध्यायमा अदभूत क्षमता रहेको भन्दै देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए ।

यसैगरी गीतकार संघका निवर्तमान अध्यक्ष चुण्डामणी देवकोटा, पूर्व राजदूत रमेशप्रसाद खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, खनाल समाजका अध्यक्ष केदारनाथ खनाल लगायतले बोलेका थिए ।

कार्यक्रममा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’ को कीर्तिमानी प्रमाण पत्र पनि डा. उपाध्यायलाई प्रदान गरिएको थियो ।

गीतकार डा. उपाध्यायका २८ एल्बम र दर्जन बढी उपन्यास प्रकाशित छन् ।


Share this with your friends:


Advertisement
Advertisement

Advertisement
Advertisement