एनआईसी एसिया लघुवित्तको शेयर : यी ५ सम्भावनाका कारण साना लगानीकर्ताका लागि छ माइलस्टोन

काठमाडौं । एनआईसी एसिया लघुवित्त कम्पनीको शेयरमूल्यमा विगत केही दिनदेखि निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । साविकको स्वदेशी लघुवित्तसँगको मर्जरले लामो समयदेखि कारोबार रोक्का रहेको सो लघुवित्तको शेयर सोमबारको बजारमा १५४५ रुपैयाँ प्रतिकित्ताका दरमा कारोबार भएको छ । ठुलो खरिद चाप र शून्य बिक्रीकर्ताका कारण कारोबार खुलेकै दिनदेखि निरन्तर सकारात्मक सर्किट लागेको सो कम्पनीको शेयर सोमबार पनि पहिलो कारोबारमै सकारात्मक सर्किट लागेको थियो भने सो दिनको कारोबार अवधिभर खरिदचाप उच्च रहेको थियो । 
पछिल्लो समय आकासिएको बजार र त्यसमध्ये पनि लघुवित्त कम्पनीहरुप्रतिको बढ्दो आकर्षणका कारण लघुवित्त कम्पनीहरुको शेयर मूल्य निकै माथि गइरहेको छ । यस आधारमा हेर्दा एनआईसी एसिया लघुवित्तको खरिद चापलाई स्वाभाविक मान्नुपर्ने हुन्छ । विशेषतः साना लगानीहरुका लागि सो शेयर एउटा कोशेढुङ्गा साबित हुने देखिन्छ । 
किन हुनेछ कोशेढुङ्गा ?
१. अभूतपूर्व शेयर
नेपालको धितोपत्र बजारको इतिहासमै सबै लगानीकर्ताहरुलाई समानुपातिक रुपमा शेयर पर्न सफल रहेको कम्पनी हो एनआईसी एसिया लघुवित्त । सो लघुवित्तको शेयरमा आवेदन गर्ने हरेक योग्य आवेदकले न्यूनतम १० र केही भाग्यमानी आवेदकले २० कित्ता शेयर हात पारेका थिए । हाल प्राथमिक बजारमा शेयर आवेदन गर्नेको संख्या २० लाख हाराहारीमा पुगिसकेको सन्दर्भमा हरेक लगानीकर्तालाई कम्तीमा १० कित्ता शेयर पर्न पनि २ अर्बको आईपीओ आउनुपर्ने हुन्छ, जुन लघुवित्त कम्पनीहरुका लागि असम्भवजस्तै रहनेछ । पछिल्लो समय जारी महिला लघुवित्तको आईपीओमा ४५ जनामा १ जना भाग्यमानीले मात्रै १० कित्ता शेयर प्राप्त गरेको जगजाहेर नै छ । 
२. अहिलेको बढ्दो बजार
पछिल्लो समयको रेकर्ड ब्रेकर अलटाइम हाई बजारको ट्रेण्डले पनि अन्य समग्र कम्पनीसँगै एनआईसी एसिया लघुवित्तको शेयर पनि प्रशस्त बढ्न सक्ने देखिन्छ । हाल लघुवित्तकम्पनीहरुको शेयरमूल्य ४५०० सम्म पुगेको सन्दर्भमा नयाँ सम्भावनासहितको एनआईसी एसिया लघुवित्तको शेयरमूल्य पनि आकासिन सक्ने देखिन्छ । 
३. कम्पनीको नयाँ सम्भावना
साविकको एनआईसी एसिया लघुवित्तले साविकको स्वदेशी लघुवित्तसँग मर्ज गरेर हालको एनआईसी एसिया लघुवित्त बनेको हो । जाजरकोट जिल्लामा केन्द्रीय कार्यालय स्थापना गरी पश्चिमी विकट पहाडी भू–भागमा वित्तीय सेवा प्रदान गर्दै आएको सो कम्पनीले सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय स्थापना गरी पूर्वी सहरी र ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको अर्को कम्पनीसँग मर्ज गरेकाले कम्पनीले अब देशभर सहरी र ग्रामीण भेगमा समेत लघुवित्तीय सेवा उपलब्ध गराउन सक्ने भएकाले पनि प्रशस्त बजार सम्भावनाका आधारमम समेत सो लघुवित्त कम्पनी आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ । 
४. एनआईसी एसिया ग्रुपको प्रवद्र्धन
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था एनआईसी एसिया बैंककै प्रवद्र्धनमा स्थापना भएको कम्पनी हो । व्यवसायमा सफल र शेयर बजारमा खेलाडी समुदायका रुपमा परिचित मारवाडी समुदायको बाहुल्य रहेको एनआईसी एसिया ग्रुपकै एक कम्पनी भएकाले बजार चलखेलकै आधारमा पनि सो लघुवित्त कम्पनीको शेयरमूल्य उच्च कायम रहने सम्भावना देखिन्छ । 
५. कम्पनीको वित्तीय अवस्था र शाखा सञ्जाल
मर्जरपछिको एनआईसी एसिया लघुवित्त चुक्ता पुँजीमा एक समृद्ध लघुवित्त कम्पनी बनिसकेको छ भने चालु आवको दोस्रो त्रैमासमा जारी छुट्टाछुट्टै वित्तीय विवरणमा दुवै कम्पनीको वित्तीय विवरण सन्तोषजनक रहेको छ । सो विवरणअनुसार एनआईसी एसिया लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको छ भने स्वदेशी लघुवित्तले करिब ८८ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको छ । यी दुवैको आम्दानी मर्जरपछिको एनआईसी एसिया लघुवित्त कम्पनीकै आम्दानी रहने भएकाले पनि कम्पनीको प्रगतिको सम्भावना उल्लेख्य रहने देखिन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement