एनआईसी एसिया बैंकको ‘अर्गानिक रियालिटी’ : अरुले किन सकेनन्, उसले किन सकिरह्यो ?

काठमाडौं । देशमा २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । सरकारी लगानीमा रहेका ३ पुराना बैंकहरु नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाहेक अन्य निजी क्षेत्रबाटै सञ्चालित छन् । निजी बैंकहरुमध्येमा पनि विदेशी लगानीसहित स्थापना भएका र पुराना बैंकका रुपमा रहेको नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक आदिको आफ्नै इतिहास छ भने हाल पनि विदेशी लगानीकै बाहुल्य रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंकको व्यवस्था पनि केही भिन्न रहेको छ । यी १० बाहेकका बैंकचाहिँ नेपालमा बैंकिङ लहर आईसकेपश्चात् नेपालीकै स्वपुँजीमा स्थापित भएका बैंकहरु हुन् । यी १० बाहेक हाल कायम १७ बैंकहरुमा एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, सनराइज बैंक, सानिमा बैंक, हालै विदेशी लगानी भित्र्याएको एनएमबी बैंक, कुमारी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डु, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, एनसीसी बैंक रहेका छन् । 
यी २७ वाणिज्य बैंकहरुमध्ये बजारमूल्यका आधारमा नबिल बैंक लि. सबैभन्दा अगाडि रहेको छ भने पुँजीका आधारमा हालसम्म ग्लोबल आईएमई बैंक अगाडि रहेको छ । साविकको जनता बैंकसँग मर्जरमा गएपछि ग्लोबल आईएमई बैंकको पुँजी बढी हुन पुगेको हो । 
देशमा करिब करिब बैंक खोल्ने लहर चलिसकेपछि स्थापना भएको नेपाल इण्डस्ट्रियल एण्ड कमर्सियल बैंक(एनआईसी) र अझै पछि स्थापना भएको बैंक अफ एसियाबीच मर्ज भएर हालको एनआईसी एसिया बैंक बनेको थियो । देशको इतिहासमै २ वाणिज्य बैंक एकआपसमा मर्जरमा जानुबाहेक सो बैंकको कुनै उल्लेख्य इतिहास रहेको छैन यद्यपि पछिल्लो समय सबैजसो वाणिज्य बैंकहरुलाई पछि पार्दै एनआईसी एसिया अघि बढिरहेको छ । बजारमा हुने हल्ला र चर्चामध्ये बहुमत चर्चा एनआईसी एसिया बैंककै हुने गरेको छ । सो बैंकको आम्दानी अगार्निक होइन, त्यसैले निकट भविष्यमै सो बैंक ठुलै दुर्घटनामा पर्न सक्छ भन्ने हल्ला पनि एउटा पक्षले गर्ने गरेका छन् भने अर्का केही पक्ष त्यस्तो हल्लाका पछि लाग्न नहुने चर्चा गर्दै आएका छन् । 
कस्तो छ एनआईसी एसिया बैंकको अवस्था ?
चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रस्तुत गरेको एनआईसी एसिया बैंकले २ अर्ब ६ करोड खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७३ पैसा कायम गरेको छ । सो विवरणअनुसार बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ । कम्पनीको नेटवर्थ १५७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २५।५२ रहेको छ । 
वित्तीय बजारका विश्लेषकहरुले वित्तीय सूचकको विश्लेषण गर्दा विभिन्न पक्षलाई आधार मान्ने गरेको पाइन्छ । धेरैजसो विश्लेषकहरुले आम्दानीकै आधारमा मुनाफा वितरण गर्न सकिने भएकाले प्रतिशेयर आम्दानी र खुद मुनाफालाई नै प्राथमिकता दिने गरेको पाइन्छ । केही विश्लेषकको तर्क भने भिन्न रहेको पाइन्छ । वित्तीय संस्थाहरुको अर्गानिक नाफालाई मात्रै खुद नाफामा नराखी सम्पत्ति बिक्रीबाट आएको कमाईलाई समेत आम्दानीमै राखिने भएकाले प्रतिशेयर आम्दानी वा नाफालाई वित्तीय विश्लेषणको सर्वश्व मान्न नहुने ती पक्षका विश्लेषकहरुको राय देखिन्छ । खासगरी लगानीका क्रममा दीर्घकालीन प्रतिफलको अपेक्षा गर्ने त्यस्ता लगानीकर्ता एवं विश्लेषकहरुले प्रतिशेयर नेटवर्थलाई वित्तीय सबलताको सूचकका रुपमा लिने गरेको पाइन्छ । 
यी २ विश्लेषणका आधारमा हेर्ने हो भने एनआईसी एसियाको वित्तीय अवस्थालाई अब्बल र दुर्बल दुवै मान्न सकिन्छ । सो बैंकले पछिल्ला सबैजसो वित्तीय विवरणमा प्रतिशेयर आम्दानी ४० रुपैयाँको हाराहारीमै पस्किने गरेको छ । चालु आवको दोस्रो त्रैमासमा ३५ रुपैयाँ ७३ पैसा प्रतिशेयर आम्दानी देखाएको सो बैंकले चालु आवकै पहिलो त्रैमासको विवरणमा ४२ रुपैयाँ १४ पैसा प्रतिशेयर आम्दानी देखाएको थियो भने त्यसअघिका विवरणमा क्रमशः ३२ रुपैयाँ ११ पैसा, ३३ रुपैयाँ ६८ पैसा र ४१ रुपैयाँ ६६ पैसा आम्दानी देखाएको थियो । गत आवको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश दिएको सो बैंकको चालु आवको दोस्रो त्रैमासको प्रतिशेयर नेटवर्थ भने १५७ रुपैयाँ ७१ पैसा रहेको छ जबकि चालु आवकै पहिलो त्रैमासको विवरणमा सो बैंकले प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ७१ पैसा रहेको उल्लेख गरेको थियो । 
यहाँ प्रश्न खडा हुन्छ कि किन एनआईसी एसिया बैंकले सधैँ वित्तीय विवरणमा प्रतिशेयर आम्दानी सन्तुलित र उत्कृष्ट कायम गर्न सकेको छ त ? सोही पेरिफेरिका वाणिज्य बैंकहरुले किन त्यस्तो विवरण प्रस्तुत गर्न सकेका छैनन् त ? के एनआईसी एसिया बैंक साँच्चिकै अब्बल बनेकै हो त ? 
पछिल्लो समय यस्ता प्रश्नहरु सबै लगानीकर्तामा विद्यमान छ तर सबै अनुत्तरित छन् । बैंकको चालु आवको पहिलो र दोस्रो त्रैमासको वित्तीय विवरणलाई हेर्दा यसको केही सूचना मिल्न जान्छ । पहिलो आवको विवरणमा प्रतिशेयर नेटवर्थ १८९.७१ रहेको बैंकको सम्पत्ति दोस्रो त्रैमासमा कसरी ३२ रुपैयाँले घट्न पुग्यो त ? सधैँ ३० रुपैयाँभन्दा बढी कमाएको वित्तीय विवरण र २० प्रतिशतमात्रै लाभांशको वितरणपछि प्रतिशेयर नेटवर्थमा झनै वृद्धि हुनुपर्ने हो तर त्यसो हुन सकेको पाइँदैन । कारण हो सो बैंकले आफ्नो नाममा रहेका शेयरहरु निरन्तर बिक्री गर्नु । 
एनआईसी एसिया बैंकले पछिल्लो ३ महिनामा मात्रै आफ्नो कम्पनीको नाममा रहेको अन्य विभिन्न कम्पनीहरुको २ अर्ब ५९ करोड बराबरको शेयर लिलामी बिक्रीका लागि सूचना प्रकाशन गरेको पाइन्छ । यीमध्ये केही शेयर बिक्री नभएर एकभन्दा बढी पटक सूचना प्रकाशन गरेको भएतापनि जनवरी २१, २०२१ को सूचनाबाट मात्रै बैंकले ९४ करोड ८५ लाख न्यूनतम मूल्य राखी शेयर बिक्री गर्न सूचना निकालेको देखिन्छ । एनआईसी एसिया बैंकले यसरी शेयरको लिलामी बिक्रीका लागि सूचना प्रकाशन गर्दा अन्य एकाध बैंकहरुले १–१ पटक बाहेक यस्तो सूचना प्रकाशन गरेको पाइँदैन । पछिल्लो ३ महिनामा एनआईसी एसिया बैंकबाहेक ग्लोबल आईएमई बैंक, नेपाल बैंक र बैंक अफ काठमाण्डूले १–१ पटक शेयर लिलामीको सूचना प्रकाशन गरेको पाइन्छ । केही वर्षअघि नेपाल बैंक लि. ले पनि यसैगरी आफ्नो नाममा रहेको सम्पत्ति(जग्गा) बिक्री गरी आकर्षक वित्तीय विवरण प्रकाशन गर्दै आएको थियो । 
बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो समान कार्य गर्ने वा भनौँ आफ्नो समूहमा पर्ने कम्पनी बाहेक अन्य कम्पनीहरुको शेयर खरिद र विक्रीको अनुमति कानुनले नै दिएको छ यद्यपि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको मूल आम्दानी भनेको वित्तीय कारोबारबाट हुन आउने नाफा नै हो र हुनुपर्छ र यस्तो आम्दानीलाई मात्रै अर्गानिक आम्दानी मानिन्छ । आफ्नो नाममा रहेको सम्पत्ति बिक्री गर्नु वा आफूले चाहेको बेलामा सम्पत्ति खरिद गर्नु स्वाभाविक प्रवृत्ति हो र यसको पूर्ण अधिकार कम्पनीमा नै रहने गर्दछ यद्यपि सम्पत्ति बिक्री गरेर नेटवर्थमा खुम्चिँदै जाने र आम्दानी मात्रै देखाउँदै जाने प्रवृत्ति सधैँका लागि भने कदापि राम्रो हुन सक्दैन । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement