भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी २० क्रिकेट लिगको उपाधी पुल्चोक क्रिकेट क्लवले हात पारेको छ ।
एस स्पोट एण्ड इभेन्ट्स प्रा.ली.ले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको फाइनल खेलमा किङ्स क्रिकेट क्लबलाई हराउदै नगद ४५ हजारसहितको उपाधी हात पारेको हो । खेलमा उपाधी हात पार्ने पुल्चोक क्रिकेट क्लव तथा दोश्रो हुने किङ्स क्रिकेट क्लबलाई प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्रदान गरे ।
कार्यक्रममा सांसद गौतमले युवाहरुको प्रतिनिधित्व गर्र्दै आफू संसद प्रवेश गरेको बताउदै युवाहरुको आवाजलाई संसदमा बुलन्द रुपमा उठाउने बताइन् । युवाहरुले अगाडि बढे देश अगाडि बढ्छ भन्दै उनले भर्खरका युवाहरुको सोचलाई साकार बनाउन लाग्नु पर्ने बताएकी छिन् ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईलगायतले युवाहरुको लक्ष्यलाई उपलब्धीमा पुर्याउने कार्यान्वयन र नेतृत्व तहका निकायहरु सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । प्रतियोगितामा उत्कृष्ठ खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नविन यादव, सुवास खत्रीले उत्कृष्ट बलरको उपाधी हात पारेका छन्।
उपत्यकाका बिभिन्न क्लबका आठ टीम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुची जगाउन र नेपालको नाम विश्वमा उचच रुपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक प्रमुख एवं १९ वर्षीय क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए । कोरोना महामारीपछि उपत्यकामा प्रकारको आयोजना हुन छाडेपछि खेलप्रेमीहरुमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरेको उनले बताए । एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो ।
केही महिना अघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्टस्ले नयाँ युवाहरुलाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठकुरीले बताएका छन् ।