पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको क्यान केन्द्रीय समिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
क्यानका बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दका अनुसार सन्दीपविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई गत भदौ २३ गते क्यानले निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उच्च अदालतको आदेशले धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
यसैबीच, मंगलबार नै उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।