काठमाडौं । आहा रारा पोखरा गोल्डकपको डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब पराजित भएको छ । पोखरामा जारी २२ औँ संस्करणको प्रतियोगितामा संकटा क्लबले बिभागीय टोली एपीएफलाई ४–१ गोलले पराजित गरेको हो।
जितसंगै संकटा क्लब फाइनलमा पुगेको छ । बुधवारको सेमिफाइनल खेलमा पहिलो हाफमा २ गोलको अग्रता लिएको संकटाले खेलको दोस्रो हाफमा अग्रता दोब्बर पार्दै ४ गोल अन्तरले एपीएफलाई स्तब्ध पारेको हो। हारसंगै दोस्रोपटक च्याम्पियन बन्ने एपीएफको योजना समाप्त भएको छ ।
संकटाका लागि खेलको चौथो मिनेटमा स्टेफन बिनोङले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। मेसुके ओलामाउको पासमा आएको बललाई उनले ‘वन एन्ड वन’को स्थितिमा विपक्षी गोलपोस्टको जाली चुमाएका थिए।
खेलको ४२ औँ मिनेटमा मेसुके ओलामाउले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर पारे। उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन्। खेलमा एपीएफले पटक–पटक अवसर पाए पनि सदुपयोग गर्न सकेन।
खेलको ६० औँ मिनेटमा बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई ३–० बनाए। उनले टिमका डिफेन्स आन्द्रे बियिकले दिएको लामो पासलाई सुन्दर फिनिसिङ दिए।
गोल अन्तरका कारण आक्रामक रूपमा खेलेको एपीएफका लागि ७३ औँ मिनेटमा हरि कार्कीले सान्त्वना गोल गरे। बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको पासलाई कार्कीले गोलमा परिणत गरेका थिए। खेलको८५ औँ मिनेटमा संकटाकै मेसुकेले अर्को गोल गर्दै गोलअन्तरलाई फराकिलो पारे।
संकटाले २०७७ सालको सोहि संस्करणमा पनि सेमिफाइनलमा एपीएफलाई स्तव्द पारेको थियो। गोल्डकपको हालसम्मको यात्रामा एकपटक उपाधि उचालेको संकटा क्लबले योपटक राम्रो प्रदर्शन गरिरहेको छ।
दोस्रो सेमिफाइनलमा बिहिवार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र भुटनिज यूथ स्पोर्टस् क्लबअमेरिकाबीच खेल हुँदै छ। सोहि खेलको बिजेतासंग संकटाले फाइनलमा प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल पुस २३ गते शनिबार हुनेछ।