धादिङको ज्वालामुखीमा गठजोड : बागीको वर्चश्व, काँग्रेसका सबै वडाध्यक्ष स्वतन्त्र उम्मेदवार !

1 महिना अगाडी

धादिङ । देशभर केन्द्रीय, प्रादेशिक, जिल्लागत र स्थानीय तहमा सहमति गरी बनाएको गठबन्धन धरमराएसँगै धादिङका विभिन्न स्थानीय तहमा समेत त्यसको प्रत्यक्ष असर देखा परेको छ । केही गाउँपालिका र वडाहरुमा विभिन्न पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवारहरुले आफ्नो चुनावी प्रसार नै थालिसकेका छन् । 
२०७४ को स्थानीय तहको निर्वाचनमा धादिङका १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिका, खनियाबास गाउँपालिका र ज्वालामुखी गाउँपालिका गरी ३ वटा पालिकामा मात्रै नेपाली काँग्रेसका उम्मेदवार पालिका प्रमुखको पदमा विजयी भएका थिए । त्यसमध्येको एक ज्वालामुखी गाउँपालिकामा नेपाली काँग्रेसर माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा काँग्रेसका विनोदराज तिमल्सेना ५९५४ मतसहित गाउँपालिका अध्यक्षका रुपमा निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद अधिकारलिे ५९३० मत प्राप्त गरेका थिए । सो गाउँपालिकाका कुल ७ वटा वडामध्ये वडा नं. २ र वडा नं. ४ मा मात्रै नेपाली काँग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका थिए भने बाँकी सबैमा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका थिए । 
अहिलेको निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका यमनाथ दनै गाउँपालिका अध्यक्षका रुपमा एवं नेकपा समाजवादीका तर्फबाट धर्मबहादुर अर्याल गाउँपालिका उपाध्यक्षका उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार साविकको चैनपुर गाविसका हुन् । नेकपा माओवादी केन्द्रका तर्फबाट भने गाउँपालिका अध्यक्षका रुपमा हरिबहादुर दनै र उपाध्यक्षमा लक्ष्मी थापा मगरले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 
२०७४ को स्थानीय तहको निर्वाचनमा ज्वालामुखी गाउँपालिकाका वडाध्यक्षहरुको मतलाई हेर्ने हो भने नेकपा एमालेका तर्फबाट कुल ५७३१, नेपाली काँग्रेसको ५२३२ र माओवादी केन्द्रको १३०० मत प्राप्त भएको थियो । पछिल्लो समय नेकपा एमालेको केही भाग फुटेर नेकपा समाजवादीमा गएको अवस्था छ । स्थानीयको विश्लेषणलाई हेर्ने हो भने नेकपा एमालेको कुल मतमध्ये २०–२५ प्रतिशत मतमात्रै नेकपा समाजवादीमा गएको देखिन्छ । यस आधारमा करिब १५०० मत नेकपा समाजवादीमा गएको पाइन्छ । त्यसो हुँदा नेकपा माओवादी केन्द्रले हाल छुट्टै उम्मेदवारका रुपमा हरिबहादुर दनैलाई गाउँपालिका अध्यक्षका रुपमा अगाडि बढाएको सन्दर्भमा समेत नेपाली काँग्रेसको करिब ५७०० मत र नेकपा समाजवादीको १५०० मत हुँदा गठबन्धनको उम्मेदवारलाई ७००० भन्दा बढी मत प्राप्त हुने र तत्कालीन एमालेको ५७०० मा करिब १५०० मत घट्दा करिब ४२०० मत मात्रै प्राप्त हुने देखिन्छ र गठबन्धनका उम्मेदवार सजिलै विजयी हुने गणितीय सम्भावना देखिन्छ ।

तर गणितीय सम्भावनाले गठबन्धनका उम्मेदवारको विजयलाई जति सुरक्षित देखाएको छ, वास्तवमा त्यति सजिलो अवस्था भने नरहेको स्थानीयको दाबी छ । २०७४ सालको स्थानीय निर्वाचनलाई नै हेर्ने हो भने पनि सो निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले पाएको कुल मतभन्दा गाउँपालिका अध्यक्षका गठबन्धनका उम्मेदवार विनोदराज तिमल्सेनाले पाएको मत ६०० र उपाध्यक्षका उम्मेदवार विष्णुकुमार श्रेष्ठले पाएको मत १७०० ले कम थियो । यसको अर्थ यो हो कि स्थानीय तहको निर्वाचनमा मतदाताले पार्टीलाई नभई व्यक्ति र स्थानीय मुद्दालाई बढी हेर्ने गर्दछन् । अघिल्लो निर्वाचनमा गाउँपालिका केन्द्रको मुद्दा नै स्थानीय मूल मुद्दाको विषय बनेकोमा अबको मुद्दा भनेको स्थानीय तहको समानुपातिक विकास नै हो । त्यसैले स्थानीय मुद्दालाई समेट्न नसकेमा एवं मतदाताको घरघरमा पुगेर विश्वासिलो प्रतिबद्धता कायम गर्न नसकेमा गणितीय सम्भावनाले फेल खाने प्रबल सम्भावना रहेको देखिन्छ । 
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा जिल्ला सभापतिका रुपमा विजयी भएका रामनाथ अधिकारीले असमानुपातिक ढङगबाट टिकट वितरण गरेको आरोप काँग्रेसीहरुले लगाएका छन् । २०७४ को निर्वाचनमा सो पालिकाका ७ मध्ये २ वटा वडामा मात्रै जितेको नेपाली काँग्रेसका वडाध्यक्षहरु दुवैले टिकट नपाउनु र दुवैले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुले पनि जिल्ला नेतृत्वको अक्षमता रहेको देखिन्छ । २०७४ को निर्वाचनमा वडा नं. २ बाट विजयी रणबहादुर शाहीले ६२७ मत प्राप्त गर्दा नेकपा एमालेका प्रतिनिधि बालबहादुर बस्न्यातले ४२९ मत प्राप्त गरेका थिए भने वडा नं. ४ बाट काँग्रेसका कृष्णबहादुर गुरुङले १२९३ मत पाउँदा एमालेका सञ्जय दुवाडीले ६९९ मात्रै मत प्राप्त गरेका थिए । यी दुवै वडाध्यक्ष स्थानीय स्तरमा लोकप्रिय नेताका रुचमा चिनिन्छन् तर यी दुवैले टिकट पाएनन् र दुवैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेसले चाहिँ वडा नं. २ मा राजु लोप्पा र वडा नं. ४ मा कृष्णलाल श्रेष्ठलाई टिकट प्रदान गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement