नबिल बैंकसँगको मर्जरको हल्लामा उचालिएको एनसीसी बैंकको शेयर मूल्यमा करेक्सन, मर्जरको सम्भावना कति ?

2 महिना अगाडी


काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरीको परिवारका केही सदस्यले ठुलो परिमाणमा एनसीसी बैंकको शेयर खरिद गरेको आशंकापश्चात् आइतबारसम्म उचालिएको सो बैंकको शेयर मूल्यमा सोमबार सामान्य करेक्सन आएको छ । इन्साइडर ट्रेडिङको आशंकामा आईतबार नेप्सेले बैंकलाई स्पष्टीकरण नै सोधेको थियो । बैंक व्यवस्थापनले कुनै शंकास्पद कारोबार नरहेको भनी स्पष्टीकरण दिएतापनि बजारमा भने चौधरी परिवारको आकर्षणपश्चात् एनसीसी बैंक र नबिल बैंक मर्ज हुने सम्भावना रहेको भन्दै बजार बढाइएको थियो तर बैंक स्रोतले यसबारेमा कुनै आधिकारिकता नरहेको जनाएपछि सोमबारको बजारमा सो बैंकको शेयरमूल्यमा करेक्सन आएको हो । 
सम्भावना कति ?
नबिल बैंक चौधरी समूहको बहुमत शेयर रहेको बैंक हो भने एनसीसी बैंक निर्मल प्रधान, एनबी समूहलगायतको मुख्य शेयर रहेको बैंक हो । चौधरी अहिले पनि नेपाली काँग्रेसको तर्फबाट विघटित प्रतिनिधिसभाका सदस्य छन् भने एनसीसी बैंकलाई काँग्रेसी वृत्तको बैंकको रुपमा चिनिन्छ । यस आधारमा हेर्दा राजनीतिक रुपमा नबिल र एनसीसी बैंकबीच केही निकटता देखिन्छ तर व्यावसायिक आधारमा हेर्दा भने सोको सम्भावना खासै देखिँदैन । 
नबिल बैंक निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो बैंक हो र धेरैजसो सूचकहरुमा नम्बर १ रहेको बैंक हो । यसअघि पनि सो बैंकसँग अन्य विभिन्न बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मर्जरको हल्ला गर्दै शेयरमूल्यमा चलखेल गर्दै आइएको थियो तर हरेक पटक ती हल्लाहरु निराधार रहेको भन्दै बैंकले स्पष्टीकरण दिँदै आईरहेको छ । 
नबिल बैंकले आफूलाई योग्य कुनै वित्तीय संस्थाको खोजी गरिरहेको चर्चा गरिएतापनि उसले चाहेको संस्था कस्तो हो भन्नेबारेमा चाहिँ केही खुलाएको छैन यद्यपि चौधरी परिवारले घराना बैंकका रुपमा स्थापित नबिल बैंकबाट आफ्नो वर्चश्व गुमाउनेगरी मर्जर नगर्ने भने पक्का नै छ । यस आधारमा हेर्दा सो बैंकको निशानामा कुनै खास समूहको स्वामित्व नरहेको बैंक तथा वित्तीय संस्था रहेको देखिन्छ । यस अनुसार लामो समय विवादमा रहेको एवं एनबी समूह र निर्मल प्रधानलगायतको ठुलो हिस्सा रहेको एनसीसी बैंकलाई नबिल बैंकले मर्ज गर्ने सम्भावना कमै देखिन्छ । 
नबिल बैंकलाई पछिल्लो समय एनआईसी एसिया बैंकले टक्कर दिँदै गएको देखिन्छ । शाखा विस्तार र ग्राहक संख्यामा तीव्र छलाङ मारेको सो बैंकले निक्षेप, कर्जा, नाफाजस्ता सूचकमा समेत नबिललाई पछ्याउँदै गएको देखिन्छ र हाल वाणिज्य बैंकको शेयरमूल्यमध्ये दोस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले त्यसमा पनि नबिललाई पछ्याइरहेको छ । यसबाट नबिल बैंक त्रस्त बनेको छ र उसलाई पनि अब शाखा विस्तार र जनस्तरको समर्थन आवश्यक रहेको महसुस भएको बुझिन्छ । यसका लागि सो बैंकले धेरै शाखा रहेको तर सञ्चालन खर्च कम रहेको बैंक तथा वित्तीय संस्थालाई लक्ष्यमा राखेको देखिन्छ, जसका लागि एनसीसी बैंक त्यति उपयुक्त पार्टनर नहुन सक्छ । सोही सम्भावनाको अध्ययनपश्चात् सोमबारको बजारमा सो बैंकको कारोबार धेरै भएतापनि शेयरमूल्यमा करेक्सन भएको अनुमान विश्लेषकहरुको रहेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement