काठमाडाैं । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् ।
आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् । सरकारमा जाने तयारीमा रहनुभएका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिएका हुन् ।
शुक्रवार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे । उनले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भिर हुने आशा आफूले गरेको पनि बताए ।
अध्यक्ष साहले भने, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उनले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ । हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतिहरुमा सुधार होस् । यो गतिहरुमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छौं ।
अहिले मुलुकमा पैसाको हाहाकार छ । किसान मारमा छन् । प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ । जनताले धितो राखेर पनि बैंकबाट पैसा पाइराखेको छैन । उत्पादनको लागि पैसा पाइराखेको छैन । पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो ।’
अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटकपटक दोहोर्याएका थिए । क्रान्तिकारीहरु एकतावद्ध भएमात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि शुरु गरेको उनको भनाई थियो ।– न्युज एजेन्सी नेपाल