बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

1 महिना अगाडी

काठमाडौं । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय  हेटौँडाका अनुसार चालु आर्थिक बर्षमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आर्थिक बर्षको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ ।  

चालु आर्थिक बर्ष २०७९÷८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ ।सो अवधिमा सरकारले १६ अर्ब १५ करोड रुपैयाँ विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ । 

चालु आर्थिक बर्षको छ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ । गत आर्थिक बर्षको छ महिनामा सरकारले ८ अर्ब रुपैयाँ खर्च गरेको थियो भने सो अवधिमा सरकरले २३ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

गत आर्थिक बर्षको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व सङ्कलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिष्टे«शन, सवारी साधन, मूल्य अधिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिवाना, बेरुजु असुललगायत छन् । 

साथै सङ्घीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको  तथा घरजग्गाको रजिष्ट्रेशन शुल्क ७ अर्ब रुपैयाँ अनुमानित रहेकोमा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ । 

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उनको भनाइ रहेको छ । छ महिनामा खर्च भएकोमध्ये ६ अर्ब २१ करोड ८६ लाख १८ हजार ५ सय ६३ रुपैयाँ चालु र ४ अर्ब ३७ करोड ८१ लाख ६१ हजार ८ सय ५९ रुपैयाँ पुँजीगत खर्च हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement