बैंकहरुको १० वर्षे प्रतिफल विश्लेषण : नबिलभन्दा सिद्धार्थ बैंक अगाडि !
विगत १० वर्षभन्दा यताको लागत र प्रतिफलको विश्लेषण गर्ने हो भने नबिल बैंक सिद्धार्थ बैंक, कृषि विकास बैंकलगायत अन्य बैंकहरुभन्दा कमजोर देखिएको छ ।

5 महिना अगाडी

काठमाडौं  । पछिल्लो समय धितोपत्रको दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दै गइरहेको छ । नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कारोबार रकममा समेत नयाँ–नयाँ रेकर्डहरु बन्दै गइरहेका छन् । लगानीकर्तालाई दिनप्रतिदिन नाफा बुक गर्न भ्याई–नभ्याई भइरहेको छ । हाल कायम २७ वाणिज्य बैंकहरुमध्ये सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य सबै बैंकहरुले आव २०७६/७७ को नाफाबाट लाभांश पनि घोषणा गरिसकेका छन् । हालसम्म लाभांश घोषणा गर्नेहरुमध्ये सर्वाधिक लाभांश नबिल बैंकले घोषणा गरेको छ । सो बैंकले चालु आवमा ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ लाभांश घोषणा गरेको छ । 
नबिल बैंक र सो बैंकको शेयरलाई धितोपत्र बजारमा ब्लुचिप्स शेयरका रुपमा लिइन्छ । हरेक वर्ष उच्च लाभांश प्रदान गर्ने र बजार जति घटबढ भएतापनि त्यति असर नगर्ने भएकाले लगानीकर्ताले नबिल बैंकलाई नै आफ्नो आदर्श कम्पनीका रुपमा लिने गरेका छन् तर विगत १० वर्षभन्दा यताको लागत र प्रतिफलको विश्लेषण गर्ने हो भने नबिल बैंक सिद्धार्थ बैंक, कृषि विकास बैंकलगायत अन्य बैंकहरुभन्दा कमजोर देखिएको छ । यस आलेखमा नबिल बैंक र सिद्धार्थ बैंकको  आव २०६७/६८ देखि आव २०७६/७७ सम्मको नगद तथा बोनस शेयर, हकप्रद शेयरलगायतको लाभांश र लागत विश्लेषण गरिएको छ । 
नबिल बैंक 
नबिल बैंकको शेयरमूल्य ई.सं. २०१० नोभेम्बर १० मा १४२१ रुपैयाँ रहेको थियो ।(नेप्सेको आधिकारिक प्रतिवेदनबाट लिइएको) । आव २०६७/६८ को नाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, आव २०६८/६९ को नाफाबाट ४० प्रतिशत नगद लाभांश एवं २० प्रतिशत बोनस शेयर, आव २०६९/७० को नाफाबाट ४० प्रतिशत नगद लाभांश एवं २५ प्रतिशत बोनस शेयर, आव २०७०/७१ को नाफाबाट ४५ प्रतिशत नगद लाभांश एवं २० प्रतिशत बोनस शेयर, आव २०७१/७२ को नाफाबाट  ६.८४ प्रतिशत नगद लाभांश एवं ३० प्रतिशत बोनस शेयर, आव २०७२/७३ को नाफाबाट १५ प्रतिशत नगद लाभांश एवं ३० प्रतिशत बोनस शेयर, आव २०७३/७४ को नाफाबाट १८ प्रतिशत नगद लाभांश एवं ३० प्रतिशत बोनस शेयर, आव २०७४/७५ को नाफाबाट २२ प्रतिशत नगद लाभांश एवं १२ प्रतिशत बोनस शेयर, आव २०७५/७६ को नाफाबाट २२ प्रतिशत नगद लाभांश एवं १२ प्रतिशत बोनस शेयर, आव २०७६/७७ को नाफाबाट १.७६ प्रतिशत नगद लाभांश एवं ३३.५ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो । यी सबै लाभांश र बोनस शेयरलाई जोड्ने हो भने नबिल बैंकको १०० कित्ता शेयर रहेका लगानीकर्ताले गत १० वर्षमा कुल ४८०८४ रुपैयाँ नगद लाभांश प्राप्त गरेका छन् भने १० वर्ष अगाडिको १०० कित्ता शेयर हाल ६६२ कित्ता कायम भएको छ । अहिलेको बजारमूल्य ११०१ रुपैयाँ अनुसार बैंकको ६६२ कित्ताको मूल्य ७२९१३३ रुपैयाँ हुन आउँछ भने नगद लाभांश सहित गर्दा बैंकले प्रदान गरेको र शेयरबाट प्राप्त हुने कुल रकम ७७७२१७ हुन आउँछ । यस आधारमा हेर्दा बैंकको लगानीकर्ताले १० वर्षमा आफ्नो लागत मूल्यभन्दा ४४६ प्रतिशत बढी रकम प्राप्त गर्न सक्दछन् । बैंकले यस अवधिमा कुनै पनि हकप्रद शेयर प्रदान गरेको छैन । 
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको शेयरमूल्य ई.सं. २०१० नोभेम्बर १० मा ३३३ रुपैयाँ रहेको थियो ।(नेप्सेको आधिकारिक प्रतिवेदनबाट लिइएको) । आव २०६७/६८ को नाफाबाट १२.७९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यस्तै, आव २०६८/६९ को नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश, आव २०६९/७० को नाफाबाट १०.११ प्रतिशत नगद लाभांश एवं १२ प्रतिशत बोनस शेयर, आव २०७०/७१ को नाफाबाट ११.१६ प्रतिशत नगद लाभांश एवं १२ प्रतिशत बोनस शेयर, आव २०७१/७२ को नाफाबाट  १.०५ प्रतिशत नगद लाभांश एवं २० प्रतिशत बोनस शेयर, आव २०७२/७३ को नाफाबाट ३९ प्रतिशत बोनस शेयर, आव २०७३/७४ को नाफाबाट १४ प्रतिशत बोनस शेयर, आव २०७४/७५ को नाफाबाट ८.१६ प्रतिशत नगद लाभांश एवं ५ प्रतिशत बोनस शेयर, आव २०७५/७६ को नाफाबाट १५.२६ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत बोनस शेयर, आव २०७६/७७ को नाफाबाट ३ प्रतिशत नगद लाभांश एवं १२ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो । यस्तै, बैंकले आव २०७१/७२ मा २५ प्रतिशत, आव २०७२/७३ मा ३० प्रतिशत एवं आव २०७३/७४ मा १० प्रतिशतका दरमा हकप्रद शेयर प्रदान गरेको थियो । यसबीचमा बैंकका १०० कित्ता शेयर रहेका लगानीकर्ताले कुल ९७२७ रुपैयाँ नगद नगद प्राप्त गरेका देखिन्छ भने १० वर्ष अगाडिको १०० कित्ता शेयर हाल ५०६ कित्ता कायम भएको छ । अहिलेको बजारमूल्य ३७७ रुपैयाँ अनुसार बैंकको ५०६ कित्ताको मूल्य १९०७९७ रुपैयाँ हुन आउँछ भने नगद लाभांश र हकप्रद शेयरमा हाल्नुपर्ने रकमसहित गर्दा बैंकले प्रदान गरेको र शेयरबाट प्राप्त हुने कुल रकम २००५२५ रुपैयाँ हुन आउँछ । यस आधारमा हेर्दा बैंकको लगानीकर्ताले १० वर्षमा आफ्नो लागत मूल्यभन्दा ५०२ प्रतिशत बढी रकम प्राप्त गर्न सक्दछन् । 
यस आलेखमा सिद्धार्थ बैंकको विश्लेषण गरिएको भएतापनि १० वर्षे प्रतिफलको विश्लेषण गर्दा एनसीसी बैंक, एनआईसी, सानिमा, कृषि विकासलगायतका बैंकहरुबाट प्राप्त हुने प्रतिफल पनि नबिल बैंकको प्रतिफलभन्दा निकै बढी रहेको पाइन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement

Advertisement
Advertisement