काठमाडौं । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३–२ ले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताएका हुन् । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा मेसुकीले गोल गरेपछि संकटाले अग्रता दोब्बर बनायो । तर पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गर्दै खेल २–१ मा ल्याए ।
बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले एक गोल थप्दै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित ९० मिनटको खेल २–२ को बरावरीमा सकएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।खेलको ११६ औं मिनेटमा संकटाका लागि कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए ।