नेपालको मैथिली समुदायमा जितिया पर्वलाई एक प्रमुख पर्वको रुपमा लिइन्छ । यो पर्व चन्द्रमासअनुसार असोज कृष्ण सप्तमीका दिनबाट आरम्भ भई असोज कृष्ण नवमीमा समापन गरिन्छ ।
मैथिली समुदायले यो पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । मैथिली समुदायले जितिया व्रतलाई पवित्र व्रतको रुपमा लिने गरेको छ । जितिया पर्वमा जितमहान बाबालाई पुज्ने गरिन्छ । यो पर्व विशेषगरी विवाहित महिलाहरुले व्रत बसेर आफ्नो परिवारको सदस्यको लागि लिने भए तापनि विशेषतः यो व्रत पुत्रलाभको लागि बस्ने धार्मिक मान्यता छ । यो पर्वलाई पुत्र प्रति मातृत्व झल्कने पर्वका रुपमा चिनिन्छ । विशेषतः आमाले आफ्नो छोराको यशस्वी तथा दीर्घजीवनका लागि बस्ने गरेको परम्परा रहेको छ ।
यो पर्व सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपवास” र नवमीको दिनलाई “पारण” भनिन्छ ।
जितिया पर्वको पूजा आराधना कसरी गरिन्छ ?
विवाहित महिलाहरु सप्तमीको दिन बिहानै उठेर भेला भई नदी, तलाउ, कुवालगायतमा गएर पवित्र स्नान गर्ने चलन रहेको छ । विशेषगरी यो पर्वमा पिनाले स्नान गर्ने चलन छ । मिथिला संस्कृति अनुसार पिनालाई शुद्व वस्तुको रुपमा लिने गरिएको छ । स्नान पश्चात भिजेको लुगामा नै नदि तथा तलाउ किनारमा गई घिरौलाको पातमा भिझेको पिना, तोरीको तेल, पुष्प, धुप र घिरौलाको फुल, चढाइन्छ । चढाएर बाँकी रहेको तेल आफु र परिवारलाई केशमा लगाइदिने चलन रहेको छ । यसरी तेल लगाएमा आर्शिवाद स्वरुप सुःख, समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । घरमा नै स्नान गर्दा धेरैले गाईको गोबर र माटो मिसाएर बनाएको कुवामा सिन्दुर र पिठार (चामलको पिठोलाई घोलेर बनाएको घोल) लगाएर घिरौलाको पातमा त्यसैगरी पुजा गर्ने चलन छ । कसैले सिन्दुर–पिठार पनि चढाउछन् भने कसैले चढाउदैनन् । यो स्थान अनुसार फरकफरक परम्परा रहेको पाइन्छ ।
कसरी मनाइन्छ ?
सप्तमीको दिन स्नान गरे पश्चात पुजा आरधना गरेपछि माछ (माछा) र मरुवा (कोदो) को रोटी खाने परम्परा रहेको छ । यस दिन विशेषगरी विभिन्न परिकारको खाना बनाएर सम्भव भएसम्म सपरिवार पारिवारिक भोजन गर्ने चलन रहेको छ । भोजनमा पापड–तरुवा (तेलमा तारेको परिकार) को विशेष स्थान रहने गरेको छ ।
तिथि अनुसार यो पटक अष्टमी भदौ २४ गते बुधबारको १० बजेबाट सुरु हुने भएको छ । त्यसैले अष्टमीको दिन राति वा विहानको मिरमिरे उज्यालोमा स्नान गरि चोखो कपडा लगाएर पुजा गरिन्छ ।
तुलसीको मोठ नजिक पानीले पखालेर वा गोबर–माटोले लिपेर चोखो स्थानमा घिरौलाको पातमा दहि, चिउरा, केरासँगै अन्य फलफुल र मिठाइ पनि चढाइन्छ । त्यसपछि कुल देवतालाई पुज्ने गरिन्छ ।
पुजा गरिसकेपछि पहिले घरको छोरालाई ढोग्न लगाएर त्यसपछि घरको बाकि सदस्यलाई ढोग्न लगाइन्छ । चढाएको दहि चिउरा सबैलाई प्रसादको रुपमा खान दिइन्छ ।
अस्टमीको पुरा दिन निराहार व्रत बस्ने गरिन्छ । नवमी तिथि लागेसँगै नुहाएर आफ्नो घरको दिवीदेउतालाई पुजा गरेर घिरौलाको पातमा केराउ, फलफुल, तुलसीको पात, सक्खर आदि चढाएर पारण सम्पन्न गरिन्छ ।
जितिया पर्वको किंवदन्ती
राजा शालिवहानको राज्यमा एक महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याएको किम्बदन्ती रहेको छ । त्यस दिन देखि शालिवहानलाई “जिमतुवाहन” नामकरण गरि राजाको सम्झनामा मैथिली महिलाहरुले यो पर्व मनाउन सुरु गरेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।
यस पर्वको ब्रत बस्नुको मुख्य आशय छोराको दिर्घायु र स्वास्थ्यलाभको कामना हो । त्यसैले यो पर्वलाई छोराप्रति आमाको मातृत्व झल्काउने पर्वको रुपमा समेत लिन सकिन्छ ।