रेबतबहादुरले छोडेको नासो — ढुंगानाले गर्नुपर्नेछ अब यी काम

9 महिना अगाडी

काठमाडौं । तिहारको शुभकामना र आफ्नो कार्यकालको अन्तिम औपचारिक भेटमा रेवतबहादुर कार्कीले कात्तिक १५ गते पत्रकार सम्मेलन गर्दैगर्दा रेवतबहादुर कार्कीले ४ वर्षे कार्यकालमा आफूले गरेका धेरैजसो कामहरुको फेहरिस्त सुनाउन भ्याए । करिब १० मिनेटको मन्तव्य औपचारिकता बाहेक अधिकांश समय सोही सूची सुनाउदा पनि उनले मुस्किलले सबै समेट्न भ्याए । अर्थात् नेप्सेको अध्यक्ष हुँदा सुरु गरेको पहलो चरणको सुधारलाई अध्यक्षको रुपमा दोस्रो चरणको सुधारमार्फत् अघि बढाएको बताएका उनले गरेका कामहरु प्रशंसायोग्य नै थिए ।

रेवतबहादुर कार्कीले धितोपत्र बजार सुधारका लागि कोशेढुंगा साबित बिदा भए पनि उनको कार्यकालमा बजारमा उनको आलोचना गर्नेहरुको संख्या पनि कम भने भएनन् । खासगरी, अर्को स्टक मार्केटको अवधारणा ल्याएपछि धितोपत्र क्षेत्रको सबैभन्दा महत्वपूर्ण स्टेकहोल्डर मानिने नेपाल स्टक एक्सचेञ्ज नेतृत्व उनीदेखि टाढियो । मार्जिन कारोबारका लागि बोर्डको स्वायत्तता खोज्दा राष्ट्र बैंक नेतृत्व पनि उनीसँग सन्तुष्ट भएनन् । बैंकलाई ब्राेकर लाइसेन्स दिने व्यवस्था गर्दैगर्दा ब्रोकरहरुसँग उनको सम्बन्ध सुमधुर हुन सकेन । लगानीकर्ताहरुले त पटकपटक बोर्डमै गएर उनको राजीनामा मागेकै हुन् ।

उता, कमोडिटिज एक्सचेञ्जको लाइसेन्समा बोर्ड नेतृत्वले घुस माग्यो भन्ने हल्ला फिँजाएर बदनाम गर्ने प्रयास पनि उनीमाथि भएको थियो । चर्चा गरिएका राम्रा कार्यक्रमहरुलाई लागु गराउन नसक्दा खेप्नुपरेको आलोचना त झन् छँदै थियो । यद्यपि धितोपत्र बजार विकास र दीगोपनाका लागि नियामक संस्थाको प्रमुखको रुपमा उनको योगदानलाई तत्काल धेरैले मन नपराए पनि दीर्घकालका लागि कार्कीले राम्रो गरे भन्ने बजारलाई पारेर गएका छन् । तर त्यति भन्दैगर्दा उनले बजार सुधारको एउटा चरण मात्रै पूरा गरेका हुन् । त्यसबाट अघि गएर गर्नुपर्ने सुधारका कामहरु पनि थोरै र कम चुनौतीपूर्ण भने छैनन् । 

बोर्डबाट बिदा हुनुअघि एउटा अन्तर्वार्तामा कार्कीले आफ्नो कार्यकालमा चाहेर पनि पूरा हुन नसकेको काम भनेर शेयर बजारमा गैर आवासीय नेपालीलाई भित्र्याउने, दोस्रो बजार स्थापना गर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिने, कमोडिटिज एक्सचेञ्जको स्थापना गर्ने लगायतका कामलाई औंल्याएका थिए । त्यसबाहेक १८ प्रतिशतमात्रै साक्षरता रहेको नेपालको धितोपत्र बजारलाई अधिकांश नेपालीको बचत परिचालनको क्षेत्र बनाउने र क्रस–बोर्डर लिष्टिङ तथा कारोबारका लागि दीर्घकालिन योजनाका साथ नेपाली धितोपत्र बजारलाई तयार बनाइराख्नुपर्ने समेत उनले बताएका थिए । उनले औंल्याएका र बजारले मागेका ती कामहरु पूरा गर्ने जिम्मेवारी नवनियुक्त अध्यक्ष ढुंगानाको काँधमा आएको छ ।

उल्लेखित सबै प्रयासहरु गर्नुअघि त्रासपूर्ण अवस्थामा रहेको बजारलाई एउटा सकारात्मक सुधारको अनुभव दिलाउन भने सक्नुपर्छ । बजारको सबैभन्दा महत्वपूर्ण आधार भनेकै लगानीकर्ताको मनोविज्ञान हो । पुँजीबजारप्रति नकारात्मक मानिएको कम्युनिष्ट सरकारबाटै नियुक्ति पाए पनि ढुंगानाप्रति बजारको छुट्टै कुनै धारणा छैन अर्थात् बजार उनप्रति सकारात्मक नै छ । नियुक्तिको पूर्वसन्ध्यामा बजारले दिएको सकारात्मक सन्देशले पनि संकेत गर्छ । 

तर त्यसो भन्दैगर्दा अहिलेको सरकार पुँजीबजारप्रति सकारात्मक नभएको यथर्था पनि टाढा छैन । अर्थमन्त्री युवराज खतिवडालाई त झन् पुँजी बजारका लगानीकर्ताहरुले शत्रुजस्तै मान्छन् । त्यही सरकार र तिनै अर्थमन्त्रीको मातहतमा रहेर उनीहरुलाई नै ‘कन्भिन्स’ गराउँदै बजारको आम धारणालाई चिर्नु नै पहिलो र सबैभन्दा महत्वपूर्ण चुनौती हो । 

यसअघिका अध्यक्षसँग नभएको अरुको आलोचना सुन्नसक्ने र अरुलाई कन्भिन्स गराउनसक्ने क्षमता नवनियुक्त अध्यक्षसँग छ । बजार सुधारमा अघिल्लो आधा दशकमा जुन ग्याप देखिएको थियो, निवर्तमान अध्यक्ष कार्कीको यही कमजोरीका कारण भएको हो । आलोचकहरुसँग बोल्नै नचाहने र उनीहरुको कुरा सुन्नै नचाहने प्रवृत्तिका कारण पनि उनले ल्याएका कतिपय योजना अघि बढेर पनि पूरा हुन नसकेका थिए । यो अवस्थालाई चिरेर अघि बढ्ने महत्वपूर्ण अवसर ढुंगानासँग छ । 

अहिलेको धितोपत्र बजार पुँजीबजारमा सीमित भएको छ, त्यसमा पनि शेयर बजारकै वर्चस्व कायम छ । धितोपत्र बजार भन्नेवित्तिकै शेयर बजारलाई सम्झने आम प्रवृत्तिलाई चिर्दै धितोपत्रको बजारको व्यापक क्षेत्रलाई आम जनताको जीवनशैलीसँग जोड्ने काम अब उनकै नेतृत्वमा अघि बढ्नु पर्नेछ । 

अहिले बजारमा प्राथमिक धितोपत्र समेत नबिक्ने अवस्था छ । सूचीकृत कम्पनीमध्ये दुई दर्जनजति कम्पनीको बजारमूल्य अंकित मूल्य भन्दा पनि कम छ । नयाँ आउँदै गरेका बीमा कम्पनी लगायतका प्राथमिक निष्कासनहरुको भविष्य पनि राम्रो देखिँदैन । यस्तो अवस्थामा पुँजी निर्माणको एउटा महत्वपूर्ण पाटोमा ‘ब्रेक’ लाग्ने अवस्था सिर्जना हुँदैछ ।

जुन बजारले प्राथमिक पुँजी निर्माणलाई पत्याउँदैन, त्यसलाई पुँजी निर्माणका अन्य पक्षहरुले समेत पत्याउने अवस्था हुँदैन । धितोपत्र बोर्डको विज्ञ सञ्चालकको छोटो अवधि र राष्ट्र बैंकको लामो अनुभवका कारणले यो समस्याबाट उनी अनभिज्ञ पक्कै छैनन् । तर स्टेकहोल्डरहरुको स्वार्थलाई समायोजन गर्दै धितोपत्र बजारलाई गति दिन सक्नु नै उनको सफलता र असफलताको अग्निपरीक्षा हुनेछ । त्यसमा नवनियुक्त अध्यक्ष ढुंगानालाई सफलता मिलोस् हाम्रो शुभकामना । 

 


Share this with your friends:


Advertisement
Advertisement