लुम्बिनीले नेपाल टी २० लिगको उपाधि जित्यो

2 महिना अगाडी
काठमाडौं । पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित  लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
 
यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख रुपैयाँ पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले  निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विरानगरका लागि  अर्जुन साउदले  सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए । 
 
विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने  किशोर महतो र विपुल शर्माले समान एक–एक  विकेट लिए ।
 
त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
 
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए ।
 
विरानगरका नन्दन यादव र  राज नाननले समान दुई–दुई  विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक  विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले १० लाख रुपैयाँ पायो । त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले ५ लाख रुपैयाँ पायो ।
 
यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागिता रहेको थियो । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement