काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको उपाधि नजिक पुगेको छ । जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले जनकपुरसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनायो ।
जनकपुरका लागि सामिउल्लाह सिनवारिले सर्वाधिक ४५ रन जोडे । ३१ बलको सामना गरेका उनले २ चौका र तीन छक्का प्रहार गरेका थिए ।ओपनर शरार्फुदिन असरफ २४ रनमा आउट हुँदा कप्तान ट्रेभोन ग्रिफितले १० रन जोडे । राजेश पुलामी १३ रनमा आउट हुँदा पवन शर्राफ ३० रनमा अविजित रहे । त्योबाहेक जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई विकेट लिए । शेड्ली भान स्केल्कवेले एक विकेट लिए ।
यसअघि, लुम्बिनीको ब्याटिङमा इशान पाण्डेले सर्वाधिक ३८ रन योगदान गरे । ओपनर हर्मीतसिंह गोल्डेन डकआउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे ।
कप्तान दिपेन्द्रसिंह ऐरी १० रन, अनिल शाह २४ रन र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे ।
जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई(दुई विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए । आजको खेलमा पराजित जनकपुरले भोली हुने इलिमिनेटरमा विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीचको विजेतासँग खेल्नेछ ।