विकसित राष्ट्रहरुमा यो वर्ष मन्दी आउने, बेलायतमा आर्थिक संकुचन

1 महिना अगाडी
काठमाडौं । सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको छ । मंगलवार रिपोर्ट सार्वजनिक गर्दै आईएमएफले यो वर्ष विश्व अर्थतन्त्रको वास्तविक वृद्धिदर २.९ प्रतिशतमा सिमित हुने पूर्वानुमान गरेको हो । सन् २०२२ मा यस्तो वृद्धिदर ३.४ प्रतिशत रहेको अनुमान रहेको छ । 
 
यो वर्ष समुन्नत अर्थतन्त्र भएका मुलुकहरुमा आर्थिक मन्दी आउनसक्ने प्रक्षेपणका आधारमा आईएमएफले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । समुन्नत अर्थतन्त्र भएका मुलुकको वृद्धिदर यो वर्ष १.२ प्रतिशतमा झर्ने पूर्वानुमान गरिएको छ । गत वर्ष यो वृद्धिदर २.७ प्रतिशत थियो । उदीयमान अर्थतन्त्र भएका मुलुकको वृद्धिदर भने यो वर्ष ४ प्रतिशत पुग्ने बताइएको छ जुन गत वर्ष ३.९ प्रतिशत थियो । 
 
आईएमएफका अनुसार समुन्नत अर्थतन्त्र भएका मुलुकमध्ये बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले नकारात्मक हुनेछ । त्यस्तै, संयुक्त राज्य अमेरिकाको पनि २.७ प्रतिशतबाट घटेर १.२ प्रतिशत तथा जापान वृद्धिदर १.४ प्रतिशतबाट बढेर १.८ प्रतिशत पुग्ने आईएमएफले जनाएको छ ।  
 
त्यस्तै, एशियाका उदीयमान मुलुकमध्ये चीनको अर्थतन्त्रको वृद्धिदर ३ बाट बढेर ५.२ प्रतिशत पुग्नेछ । भारतको वृद्धिदर भने ६.८ प्रतिशतबाट घटेर ६.१ प्रतिशत आइपुग्ने जनाइएको छ । यूरोपको उदीयमान मुलुक रुसको अर्थतन्त्र यो वर्ष ०.३ प्रतिशत बढ्नेछ । युक्रेनसँगको युद्धका कारण गतवर्ष रुसको अर्थतन्त्र २.२ प्रतिशतले नकारात्मक थियो । गत वर्ष ८.७ प्रतिशतले बढेको साउदी अरेबियाको अर्थतन्त्र यो वर्ष भने २.६ प्रतिशतले मात्रै बढ्ने अनुमान गरिएको छ । 
 
आर्थिक मन्दीको संकेतसँगै यो वर्ष विश्वको मुद्रास्फीतिमा भने सकारात्मक प्रभाव देखिने सम्भावना समेत विश्व बैंकले औंल्याएको छ । विश्व उपभोक्ता मूल्यसूचक यो वर्ष ६.६ प्रतिशत मात्रै बढ्नेछ । गत वर्ष यस्तो वृद्धिदर ८.८ प्रतिशत थियो । यो दर समुन्नत अर्थतन्त्र भएका मुलुकमा  ६.६ प्रतिशत र उदीयमान अर्थतन्त्र भएका मुलुकमा ८.१ प्रतिशत रहने समेत पूर्वानुमान गरिएको छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement