विद्यार्थीहरुले डाउनलाेड गर्न छुटाउन नहुने यी एप्स, तपाइँको अध्ययनलाई पुर्याउँछ उचाईमा

काठमाडाैं । स्मार्टफोनको बजार बढ्दो छ । इन्टरनेटको सुविधा पनि पहिले भन्दा सहज बन्दैछ । विद्यार्थीहरू पनि प्रविधिको दुनियाँमा रमाउँदैछन् । कुनकुन एप्स अध्ययन र आफ्नो जीवनमा उपयोगी छन् ? चर्चा गरौं ।

मेरो एन्सर : यो नेपालमा हुने विभिन्न प्रवेश परीक्षा तयारी गर्ने सहयोगी मोबाइल एप्स हो । मेरोएन्सर एप्सले आइओएम, आइओइ, भारतीय राजदूतावासबाट पाइने छात्रवृत्ति आदि परीक्षाको तयारी गर्न सघाउँछ । प्लस टु अध्ययनरत छँदा विषयगत तयारी गर्न सघाउने हुनाले तयारी कक्षाका लागि काठमाडौं नै आउनुपर्छ भन्ने छैन ।

लोकसेवा नेपाल : यो एप्सले लोकसेवा आयोगले लिने परीक्षा दिन चाहनेहरूका लागि नोट, पाठ्यसामग्रीहरू, सन्दर्भसामग्री तथा मोडल प्रश्नहरू उपलब्ध गराउँछ । आयोगका सूचना र अन्य अवसरहरूको जानकारी पनि यही एप्सले दिन्छ । यो एप्सले शाखा अधिकृत, कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर, नायब सुब्बा, खरिदार, स्टाफ नर्सजस्ता विभिन्न पदको तयारीमा सघाउँ पुर्‍याउँछ ।

म्याथ्वे : गणितको गृहकार्य गर्नमा कठिनाइ भयो ? सही जवाफ मिलाउन गार्‍हो भयो ? म्याथ्वे एप्सले सही जवाफ पत्ता लगाउन सहयोग गर्छ । अलजेब्रा, ज्यामिति र गणितका अन्य समस्या यो एप्समा राखेपछि यसले आफै जवाफ पत्ता लगाउँछ । यो एप्स शिक्षक नहुँदा सिकाउने यो भरपर्दो माध्यम हो ।

आईट्युन्स यू : यदि एप्पलका डिभाइसहरू प्रयोग गर्नुहुन्छ भने आइट्युन्स यू अर्को उपयोगी एप्स हो । यसले संसारका प्रख्यात एमआइटी, अक्सफोर्ड, यल, क्याम्ब्रिजलगायत अन्य धेरै विश्वविद्यालयका फरक शैक्षिक कोर्सहरूका सम्बन्धमा नि:शुल्क जानकारी प्रदान गर्छ । यसले भविष्यमा विदेशी कलेज, विश्वविद्यालय पढ्ने सपना छ भने अहिल्यैदेखि तयारी गर्नसघाउँछ ।

आईबुक्स : यो एप्स आफूलाई मन लागेका पुस्तकहरू पढ्न र डाउनलोड गर्न उपयोगी छ । अध्ययनमा रुचि राख्नेहरूका लागि यो लोकप्रिय एप्स हो ।

इंग्लिस स्पिकिङ कोर्स : अंग्रेजी शुद्धसँग उच्चारण गर्न र धाराप्रवाह बोल्न यो एप्स उपयोगी छ । हामीले बोल्दा, उच्चारण गर्दा कुनकुन ठाउँमा गल्ती गर्छौं ? यो एप्सको उपयोग गरेपछि राम्रो ज्ञान मिल्छ । यो एप्स एकपटक प्रयोग गरेपछि इन्टरनेट चाहिँदैन ।

नेपाली ट्रान्सलेटर : नेपालीबाट अंग्रेजीमा र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्नुपर्‍यो भने नेपाली ट्रान्सलेटर डाउनलोड गर्न सकिन्छ । यो एप्स प्रयोग गर्न सजिलो छ । यसले कुनै पनि शब्द अंग्रेजी तथा नेपाली दुवै भाषामा उच्चारण गरिदिन्छ ।

सामान्यज्ञान : सामान्य ज्ञान तथा समसामयिक वस्तुस्थितिसम्बन्धी जानकारी लिन यो एप्सले सघाउँछ ।

इजिविब : निबन्धहरू लेख्न अप्ठ्यारो लाग्छ ? नयाँ शैली सिकाउन, एमएलए, एपिए शैलीमा लेख्न इजिविब एप्सले सिकाउँछ ।

स्टडियस : आफूले गर्नुपर्ने गृहकार्य, असाइनमेन्ट र अन्य महत्त्वपूर्ण तिथिमिति बिर्सने समस्या छ ? त्यसो भए स्टडियस एप्स उपयोगी हुन्छ । कुन दिन कुन विषय पढाइ हुन्छ, कुन शिक्षकको क्लास छ भन्ने कुरा नोट गर्न पनि यसले सघाउँछ ।

डिक्सनरीडट्कम : पत्रपत्रिका, पुस्तक आदि पढ्दा होस् वा अन्य झट्ट सुन्दा अफ्ठ्यारा लागेका शब्दको अर्थ जान्न तपाईंको मोबाइलमा डिक्सनरीडट्कम एप्स छ भने तत्काल समाधान प्राप्त गर्न सकिनेछ ।

सेल्फकन्ट्रोल : पढाइमा धेरै कुराले बाधा उत्पन्न गर्छ । छिनछिनमा मोबाइल चलाइरहन, कम्प्युटरमा गेम खेल्नतथा बिभिन्न वेवसाइटहरू चहारिरहन मन लाग्छ । सामाजिक सञ्जालहरूको प्रयोगबिना त झन् बस्नै सकिँदैन । कसरी मनलाई नियन्त्रण गर्ने ? यस्तो बेला सेल्फकन्ट्रोल एप्सले सघाउँछ । यसले अनाबश्यक वेवसाइट ब्लक गर्न, पढाइमा मन लगाउन सहयोग गर्छ ।

स्टुडेन्ट सेफ्टी एप्स : जिन्दगीबाट सम्बन्धलाई हटाउने हो भने सम्भवत: जीवनको पनि कुनै अर्थ रहँदैन । एकपटक भेटिएका साथीहरू सधैं आफ्नै साथमा हुन्छन् भन्ने छैन । आफ्ना साथीहरूको सम्बन्ध जोडिराख्न सघाउँछ, स्टुडेन्ट सेफ्टी एप्सले । कोही हरायो भने लोकेसन देखाउने तथा फोन गर्न सकिने सुविधा पनि यसले दिएको छ ।

डियोलिंगो : यदि विदेशी भाषा सिक्न वा विदेशी साथीहरूसँग कुराकानी गर्न चाहनुहुन्छ भने डियोलिंगो नभई नहुने एप्स हो । यो एप्सले नयाँ शब्दहरू सिक्न तथा अन्य भाषामा सञ्चार गर्न मद्दत गर्छ ।

लेमन वालेट : वालेट हराएर तनाव भोग्नुभएको छ ? यस्तो अवस्थाबाट पार पाउन लेमन वालेटले सहयोग गर्छ । यो वालेटको सुरक्षा गर्न तथा हराएको स्थिति पत्ता लगाउन उपयुक्त एप्स हो ।


Share this with your friends:


Advertisement
Advertisement