पेशल आचार्य
भक्तपुर । कुनै पनि दलले लगातार निर्वाचन जित्न नसकेको क्षेत्र हो, भक्तपुर २ । २०४६ सालमा प्रजातन्त्रको पुनःवहाली पछि मुलुकमा सात वटा आम निर्वाचन भए । तर, ती कुनै निर्वाचनमा पनि लागातार कुनै दलले पनि आफ्ना प्रतिनिधि जिताउँन सकेनन् ।
यो संयोग मात्र हो भन्ने राजनीतिक पण्डितहरु धेरै थिए, यसपटक । तर, फेरी पनि भक्तपुर–२ का मतदाताले बिगतका निर्वाचन जस्तै यसपटक पनि विकल्प रोजेका छन् । २०७४ सालको आम निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई झण्डै दोव्बर अर्थात १८ हजार मतले पछिपार्दै बिजयी भएका नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत यसपटक चुनाव जित्नेमा ढुक्क थिए ।
घघिल्लो निर्वाचनमा अपेक्षा गरेभन्दा बढी मत आउँनु र बिगत पाँच वर्षमा यस क्षेत्रको विकास निर्माणका काम गरेकाले जनताले आफुलाई पुनः विजयी गराउँने भन्दै चुनावी सभामा बस्नेत भन्ने गर्थे, ‘‘पाँच वर्षअघि मैले दोव्वर मत ल्याएर जितेको थिए । यसपटक म तेव्वर मत सहित जित्ने छु । इन्द्रेको बाउ चन्द्रे आएपनि मलाई हराउँन सक्दैन ।’’
नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका दुर्लभ थापाभने मतदातामाझ विगतमा पार्टीकै प्राविधिक कमि कमजोरीले चुनाव हारेपनि यसपटक आफुहरुले निर्वाचन जित्ने जिकिर गरिरहेका थिए । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा थापा भन्थे, ‘‘हामि २०४६ साल यताका छ वटा निर्वाचनमध्ये तीन वटामा विजय भइसकेका छौ । २०७४ सालमा हारेपनि यसपटक हाम्रो जित्ने पालो हो । तपाईहरु ढुक्क भएर मत दिनु, हामी चुनाव जित्छौ ।’’
थापाले भनेजस्तै भक्तपुर–२ मा २०४६ पछिका पाँच वटा निर्वाचनमा तीन पटक नेपाली कांग्रेस र दुई पटक नेपाल मजदुर किसान पार्टीले जित्दै आएका थिए । २०७४ सालको निर्वाचनमा भने एमालेले बाजी मारेको थियो । विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा त्यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने विजयी भएका थिए । ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।
२०६४ सालमा समपन्न पहिलो संविधानसभा निर्वाचनमा विजयी भएको नेमकिपा २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा करिव १६ हजार मतसहित दोश्रो भएको थियो । त्यसपछि २०७४ को आम निर्वाचनमा तेश्रो शक्तिका रुपमा झरेको नेमकिपाले यस पटक पनि मत संख्या अझ घटाउँदै तेश्रो भएको छ । सो पार्टीकी उम्मेदवार अनुराधा थापामगरले पाँच हजार नौ सय ७३ मतमा चित्त बुझाएकी छिन् । कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेकोमा दुई हजार ५३ मत बदर भएको छ ।
२०७४ सालको आम निर्वाचनमै टिकटको प्रमुख दावेदारका रुपमा रहेका पार्टी सभापति थापालाई पन्छाएर पुर्व सभामुख दमननाथ ढुंगानालाई टिकट दिएपछि कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेको थियो । नेपाली कांग्रेसको संस्थापन पक्षमा खरो रुपमा उत्रने नेताका रुपमा चिनिएका थापा पार्टी सभापति तथा प्रधानमन्त्रीका विश्वास पात्रका रुपमा चिनिदै आएका छन् । त्यतिवेलै अर्को चुनावमा टिकट दिने भनेर थापालाई आश्वस्त पारिएको थियो ।
थापाले टिकट पाउँने चर्चा चलेकै वेला तत्कालिन सांसद महेश बस्नेतले थापा होईन, देउवालाई आफुसंग चुनावमा प्रतिस्पर्धा गर्न भक्तपुर आउँन चुनौति दिएका थिए । २०७८ भदौ १८ गते भक्तपुरको कटुन्जेमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले बस्नेतको जवाफ फर्काउदै आगामि निर्वाचनमा पार्टीले थापालाई टिकट दिने र उसलाई हराएर देखाउन महेश बस्नेतलाई चुनौति समेत दिएका थिए । पहिलो पटक निर्वाचनमा टिकट पाएर होमिएका थापाले उनै महेश बस्नेतलाई चुनाव हराएर प्रधानमन्त्रीको बोली पुरा गरिदिएका छन् ।
थापालाई प्रधानमन्त्रीको बधाई
भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । यस क्षेत्रका निर्वातमान सांसद तथा पूर्वमन्त्री महेश बस्नेतलाई पराजित गर्दै बिजयी भएका काँग्रेसका थापालाई प्रधानमन्त्रीले टेलिफोन र ट्वीटरबाट बधाई दिएका हुन् । आज बिहान सम्पन्न मतगण्नामा थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका थिए ।
कुल ६५ हजार ९ सय मतमध्ये थापाले २४ हजार २ सय ३८ मत ल्याई बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाए । यस अघि २०७४ सालको आम निर्वाचनमा करिव १८ हजार मतान्तरले कांग्रेस उम्मेद्वार दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यस पटकको गणनामा शुरूदेखिनै पछि पर्दै आएका थिए । २०७४ सालको निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार दमननाथ ढुङ्नाले १८ हजार ६८७ मत पाउँदा बस्नेतले ३६ हजार ४१२ मत प्राप्तगरि विजयी भएका थिए ।
को हुन् दुर्लभ थापा
बिक्रम सम्वत २०२५ साल भदौ २३ गते बुबाको डा रामबहादुर थापा र आमा अम्बिका थापाका दोस्रो सन्तानका रुपमा भक्तपुरको कटुन्जेमा जन्मिएका दुर्लभ थापाले प्रारम्भिक शिक्षा स्थानीय महेन्द निमावि र माध्यमिक शिक्षा श्रीपद्म हाई स्कुलबाट पुरा गरेका थिए ।
२०४३ सालमै १८ वर्षको उमेरमा नेपाली कांग्रेसको भात्रीसंस्था नेपाल विद्यार्थी संघमा आवद्ध भएका थापाले नेपाल कर्मस क्याम्पस मिनभवनबाट वाणिज्य शास्त्रमा स्नातक उतिर्ण गरेका छन् । २०५० सालमा नेबि संघ भक्तपुरको सभापतिका प्रत्याशी प्रत्यासी थापा २०५३ सालमा नेपाल विद्यार्थी संघका तर्फबाट नेपाल कर्मस क्याम्पस मिनभवन स्वतन्त्र विद्यार्थी युनियनको सभापति प्रत्याशी बनेका थिए ।
२०५७ मा नेबि संघ केन्दीय सदस्य भएका थापा ११ औ माधिवेशन देखि महासमिति सदस्य, नेपाली कांग्रेस भक्तपुरको जिल्ला सदस्य हुदैँ १३ औँ र १४ औँ माहाधिवेशनबाट पार्टी जिल्ला सभापति निर्वाचित भएका हुन् । नाशा कलेजको डाईरेक्टर, अम्बिका हेल्थ इंिन्स्टटिच्युटका प्रबन्धक निर्देशक, नवदूर्गा कलेजको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका थापा बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध छन् ।
थापासंग कटुञ्जे घट्टेखोला खानेपानी जल उपभोक्ता समितिको संस्थापक उपाअध्यक्ष लगायत विभिन्न सामाजिक संघसस्थामा काम गरेको अनुभव छ ।