समता लघुवित्तको ३१% लाभांशको भ्रम, विचार नपुर्याए यसरी डुबिन्छ लीलामीमा

22 दिन अगाडी

काठमाडौं । बजारमा ३१ प्रतिशत लाभांश दिने कम्पनीको मूल्य कति हुन्छ ? अनि बजारमा १० प्रतिशत लाभांश दिने कम्पनीको मूल्य चाहिँ कति हुन्छ ? वाणिज्य बैंकहरुमा हेर्ने हो भने ३५ प्रतिशत लाभांश घोषणा गरेको एनएमबि बैंकको शेयर ३९१ रुपैंयामा समायोजन भयो । उता सबैभन्दा कम ६ प्रतिशत लाभांश घोषणा गरेको सिभिल बैंकको मूल्य १३५ रुपैंयाको हाराहारीमा मात्रै छ । तर बजारमै यस्तो कम्पनी छ जसले १० प्रतिशत मात्रै लाभांश दिन्छ तर पनि लगानीकर्ताहरु त्यसको मूल्य ५०० भन्दा बढी तिरिरहेका छन् । बिहीबार त झन् त्यसको मूल्य एकैदिन २१ रुपैंया बढेर ५३६ रुपैंया पुग्यो । 

हकप्रदअघि कायम रहेको ६ करोड ६ लाख ७२ हजार चुक्ता पुँजीलाई आधार मानेर समताले गत असोज १० गते ३१.५८ प्रतिशत नगद लाभांश घोषणा गर्यो । योमध्ये १५ प्रतिशत बोनश शेयर र बाँकी १६.५८ प्रतिशत नगद लाभांश हो । तर त्यो घोषणा हुनहुभन्दा अघि नै समताका शेयरधनीहरुले १ः२ बराबर हकप्रद भरिसकेका थिए जसको बाँडफाँड भएर आवेदन नपरेका शेयरको लिलाम बढाबढ बिक्री समेत चलिरहेको छ । 
 

शुक्रबार समताले घोषणा गरेको त्यही ३१ प्रतिशत लाभांशका लागि मूल्य समायोजन हुँदैछ । तर शेयरधनीले लाभांश प्राप्त गर्ने बेलामा यो लाभांश १० प्रतिशतमा सीमित भइसकेको छ । हकप्रदबारे जानकार रहेको समताले त्योबेला हकप्रद शेयरको बारेमा सूचनाका एक शब्द पनि उल्लेख गर्न आवश्यक ठानेन वा चाहेन । तर पुस ४ गते प्रकाशन गरिएको साधारणसभाको सूचनामा भने ३१ प्रतिशत लाभांशलाई हकप्रदसँग समायोजन गरेर १ तिहाइमा झारिदिएको छ । यसले गर्दा लगानीकर्ता झुक्किएका छन् । मूल्य समायोजनअघि बिहीबार उक्त शेयरको मूल्यमा भएको उछालपनि त्यसकै परिणति हो । 

अक्सन आवेदकलाई पनि घाटा

समताको लाभांश दर वा २९ गतेको साधारणसभाका लागि शुक्रबार हुँदै गरेको मूल्य समायोजनलाई विचार नगरेर बजारमूल्यका आधारमा लिलाम बढाबढमा आवेदन दिने लगानीकर्ताहरु पनि समताको यस्तो गुमराहबाट पीडित बन्ने नै छन् । सामान्यतया मूल्य समायोजनअघि शेयर किन्दा कम्पनीले लगानीकर्तालाई घोषणा गरेको लाभांशलाई आधार मानिन्छ । उता अक्सनमा आवेदन दिँदा पनि कमपनीले घोषणा गरेको लाभांश र बजार मूल्यलाई नै आधार मानेर गरिन्छ । 
 

यहाँनिर ३१ प्रतिशत लाभांशको आशमा धेरै मूल्य बढेर शेयर किन्ने लगानीकर्ता वा अक्सनपछि ३१ प्रतिशत लाभांश पाउँछु भनेर लिलामी बढाबढमा आवेदन गर्ने शेयरधनीहरुको संख्या पनि धेरै भेटिन्छन् खोज्दै जाने हो भने । यस्तो भ्रमपूर्ण अवस्था आउनै नदिने जिम्मेवारी स्वयं कम्पनीको हो यहाँ नियामकले कानूनी डण्डा चलाउने ठाउँ पनि हुँदैन । यहाँ समताको भ्रमपूर्ण तथ्यांकबाट झुक्किएर घाटा व्यहोरेका लगानीकर्ताको जिममेवारी कसले लिने ? नियामकले, कम्पनीले कि लगानीकर्ता स्वयंले ?


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement