सांस्कृतिक अतिक्रमण : तीजमा देउडा र सगुन हराए, डिजेमा डान्स !

काठमाडौं । केही समय अघिसम्म सासुको करकर र श्रीमान्को बारेमा लेखिएका गीत गन्किने नेपाली समाजमा यस वर्षको तीजमा ‘सोचेझै जिन्दगी रैनछ’ ‘माछो माछो भ्यागुतो यसपालिको तीज’ जस्ता गीतहरु घन्किए । केही वर्षअघि पोइला जान पाम् शिव जस्ता गीतहरुले नै अबको समाजमा रोदनको गीतले स्थान पाउँदैन भन्ने संकेत पाइसकेको थियो ।

समाज परिवर्तनसँगै आएको तहकभडकले गर्दा तीजको सांस्कृति पक्ष भने भुल्दै जान थालिएको छ । सुदूर एवं कर्णाली प्रदेशका कतिपय भेगमा तीजका दिन सबै महिला एक ठाउँमा जम्मा भएर सगुन, फागसहित शिवपार्वतीको पूजा गर्ने चलन थियो । मध्यपहाडी भेगको आफ्नै संस्कृति थियोे । यो चलन पछिल्लो समय हराउँदै गएको छ । तीजको दर खाने नाममा एक महिना पहिलादेखि नै भड्किला कार्यक्रमहरू हुन थालेका छन् ।

दरको नाममा विभिन्न नशालु पदार्थको सेवाले गर्दा यसको सांस्कृतिक महत्वलाई लोपोन्मुख गराउँदै लगेको छ । धार्मिक एवं सांस्कृतिक दृष्टिले यो पर्वका सकारात्मक पक्ष भए पनि केही वर्षयता व्रतको अघिल्लो दिन खाइने दरको स्वरूप परिवर्तन हुँदै गएको छ । यो पनि सांस्कृतिक विचलनको एउटा उदाहरण हो ।

दरको विषयमा पञ्चायतकालमा कानुनी व्यवस्था समेत गरिएको थियो । सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत बनेको सामाजिक व्यवहार नियमावली २०३३ को नियम १२ मा तीजमा पठाइने दरसम्बन्धी व्यवस्था गरिएको छ जसमा तीजमा दर पठाउँदा आ–आफ्नो प्रचलन एवं परम्पराअनुसार मिठाईं र फलफूल आदि बढीमा दुई किस्तीबाहेक अन्य सामग्री पठाउनु हुँदैन भनिएको थियो । तर अहिले तीज भड्किलो बन्दै गएको छ ।

तीजमा खाने खानादेखि लगाउने पहिरन हुँदै यसको सम्पूर्ण सांस्कृति पक्ष अतिक्रमणको चपेटामा परेको छ । पश्चिमा शैलीमा डिजे बजाएर हुने कार्यक्रम नै सांस्कृतिक अतिक्रमणको उदाहरण हो । 

सासुको दबाब सकियो, तीजको गीत फेरिए

भदौरे भेललाई चिर्दै लामो समयपछि माइत पुग्ने छोरी चेलीले आफ्नो पीडा र रोदन एक अर्कामा सुनाउने रंगमञ्च थियो कुनै समयको तीज । सासुद्वारा बुहारीहरु दबाइएका हुन्थे । आफ्नै श्रीमान्ले पनि आफ्नो समस्या नसुनेको पीडा पोख्नको लागि आफ्नै माइतीको देश फर्किने चलन थियो ।

तर अहिले पुरानो तीजको अधिकांश चलनहरु सान्दर्भिक देखिँदैनन् । अहिले सासुले बुहारीमाथि नभई बुहारीले सासुमाथि शासन गर्ने चलन बढेको छ । श्रीमान्ले श्रीमतीको कुरा नसुन्ने नभई श्रीमान्लाई आफ्नो कुरा सुन्न श्रीमतीले बाध्य पार्ने चलन आइसकेको छ ।

प्रविधिको विकाससँगै आफ्नो गुनासा पोख्नको लागि माइती पुग्नुपर्ने र वर्षदिनको तीज कुर्नुपर्ने अवस्था पनि छैन । यस्तै यावत कारणले पछिल्लो सयमा तीज संस्कृतिमा आमूल परिवर्तन आएको छ । वेदनाका गीतलाई उत्तरआधुनिक गीतले विस्तापन गर्न थालेका छन् । दरको संस्कृतिलाई भड्किलो खानेकुरा मिसाइएको छ ।

के हो तीजको सांस्कृतिक पक्ष

सांस्कृतिक पक्षलाई केलाउने हो भने श्रीकृष्ण जन्माष्टमीको दिनदेखि नै तीजको सुरुवात भएको मान्ने गरिन्छ । त्यसैले कृष्ण जन्माष्टमीलाई सानो तीजको रुपमा पनि मान्ने गरिन्छ । तीजको एक दिन अघिल्लो दिन दर खाने नेपालको मौलिक पर्व हो । पौष्टिकयुक्त खाना खाएर भोलिपल्टको लागि दरिलो भएर बस्ने भन्ने अर्थमा दर भन्ने शब्दावलीको प्रयोग गरिएको बताउँछिन् पोषणविद् अरुणा उप्रेती ।

त्यस्तै हरितालिका अर्थात् तीजको दिन महिलाहरु निर्जला व्रत बस्ने गर्छन् । निर्जला व्रतको अर्थ कठोर तपस्या भन्ने अर्थ हुन्छ । जस्तो शिव अर्थात् कल्याणदायक वस्तु प्राप्त गर्नको लागि कठोर तपस्या आवश्यक पर्छ भन्ने सांकेतिक अर्थ पनि तीजको निर्जला व्रतले बोक्ने गरेको छ । यो तीजको सांस्कृतिक महत्वको पक्ष हो ।

हिमालय पर्वतकी पुत्री पार्वतीले शिवलाई पति पाउनको लागि कठोर व्रत बसेको कुरा शिव पुराणको २२ औं अध्यायमा छ । सोही अध्यायमा नै पार्वतीले अनेक किसिमको परीक्षा दिनुपरेको कुरा समेत उल्लेख गरिएको छ । यसको अर्थ तीज एउटा जीवनको पाठ सिकाउने पर्व पनि हो भन्ने अर्थमा बुझ्न सकिन्छ ।

यसमा धेरै पक्षहरु छन् तर कतिपय पतिको खुट्टाको पानी पिउने चलन, पतिको लागि व्रत बसेको जस्ता केही कमजोर पक्षलाई समातेर यसको आलोचना पनि गर्ने गरिएको पाइन्छ । तर सांस्कृतिक रुपमा यसको महत्व धेरै देखिन्छ ।

तीज र हरितालिकाको नामाकरण कसरी भयो ?

हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर पार्वती भने घर न थर भएका, विष भाङ, धतुरो खाने दिगम्बर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन् । पार्वतीले चुपचाप आँसु बगाएर बाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जलि नदिई विद्रोहमा उत्रिइन् ।

पार्वतीले आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गर्ई पानी पनि नखाई व्रत सुरु गरिन् । हरितालिकाको शाब्दिक अर्थलाई केलाउँदा ‘हरिता’ र ‘अलिका’ भन्ने शब्दबाट बनेको हो । यसमा रहेको हरिता भन्ने शब्दले हरण गरिएको भन्ने अर्थ र अलिकाको अर्थ साथीहरूद्वारा भन्ने अर्थ बुझाउँछ । साथीहरूद्वारा हरित पार्वतीले निर्जला व्रत बसेकोले यसदिन महिलाहरूले निर्जला व्रत बस्ने गरेको परम्परा छ ।

तीज भन्ने पर्व एउटा किराको नामबाट राखिएको हो । तीज भन्ने किरा भदौको समयमा निस्कने एक प्रकारको किरा हो । वर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित छ ।

तीजको साँझ १०८ सुते बत्ती प्रज्वलन गरिन्छ र ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्रमाको पूजा गर्ने गरिन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement