काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरेको हो। सो आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाडौँ, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।