सूर्यविनायकका ६० प्रतिशत योजना कार्यान्वयनमा, ६ महिनामा ४२ करोड खर्च

1 महिना अगाडी
भक्तपुर । सूर्यविनायक नगरपालिकाका ६० प्रतिशत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनमा गएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत २९१ वटा कार्यक्रममध्ये ६ महिनासम्म १७६ वटा कार्यक्रम कार्यक्रम कार्यन्वयन सुरु भएको हो । यसमध्ये ७१ वटा योजनाहरु सम्पन्न समेत भइसकेको नगरपालिकाले जनाएको छ । बाँकी १२५ कार्यक्रमका लागि भने कार्यान्वयन सम्झौता हुन बाँकी रहेको जनाइएको छ ।
 
१३ औं नगरसभापछि पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति तथा समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अनुसार यो अवधिमा नगपालिकाले १ अर्ब ३२ करोड स्रोत परिचालन गरी ४२ करोड २२ लाख खर्च गरेको उल्लेख गरेको छ । यो अवधिमा परिचालित कुल राजश्वमध्ये ९ करोड २४ लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन भएको नगरपालिकाको तथ्याङ्क छ । 
 
यो अवधिमा ‘उज्यालो नगर प्रमुख’ कार्यक्रममार्फत चालू आर्थिक वर्षमा नगर क्षेत्रमा १ हजार १ सय ८६ सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै, १ हजार ३ सय १९ वटा घर नक्सासम्बन्धी कार्य गरिएको नगरपालिकाले जनाएको छ । 
 
नगरपालिका क्षेत्रमा हालसम्म ९३ वटा कृषक समूह र ७७ वटा कृषि तथा पशुपंक्षीसम्बन्धी व्यवसाय भएका छन् । नगरपालिकामा सूचीकरण भएका २२४ सहकारीमध्ये  ६ महिनाको अवधिमा ११४ सहकारी संस्था नवीकरण भएको अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ । यो आर्थिक वर्षमा मात्रै थप ११ वटा सहकारी संस्था सूचीकरण भएको नगरपालिकाले जनाएको छ । 
 
सामाजिक सेवा अन्तर्गत यो अवधिमा १ हजार ८ सय ४६ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र साथै २ सय १४ जनालाई अपाङ्गता परिचयपत्र  वितरण गरिएको छ । बालश्रम न्यूनीकरणको लागि नगरपालिका भित्र रहेका १२ वटै इँट्टाभट्टाको स्थलगत अनुगमन गरी आवश्यक निर्देशन दिइएको नगरले जनाएको छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement