सडक र बिजुलीकै एजेण्डा बोकेर अब चुनाव जितिँदैन : दुर्लभ थापा

21 दिन अगाडी

 यही मंसिर ४ गते संघीय र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । संघीयता कार्यान्वयनपछिको दोस्रो निर्वाचनका लागि मिति नजिकिँदै गर्दा सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिरहेका छन् । 

भक्तपुरमा पनि काँग्रेसले चुनावलक्षित विभिन्न कार्यक्रम गर्दै आएको छ । देशव्यापी रुपमा गठबन्धनको प्रयास भइरहँदा भक्तपुर काँग्रेसले पनि गठबन्धनको आवश्यकता र औचित्यबारे आफ्ना कार्यकर्ता र जनतालाई बुझाउने प्रयास गर्दै आएको छ । 

यसै सन्दर्भमा भक्तपुरको सम्भावित चुनावी परिदृष्य एवं सत्तारुढ दलहरुको रणनीति र तयारीबारे केन्द्रित भइ नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापासँग अन्तवार्ता गरिएको छ । 

स्थानीय तहको निर्वाचन सकिएर अब संघीय तथा प्रदेशको निर्वाचन पनि सुरु भइसक्यो यो स्थितिमा भक्तपुरको काँग्रेसको समग्र अवस्थाको बारेमा बताइदिनुहोस् न

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भइसकेपछि लगत्तै स्थानीय तहको निर्वाचन होमिनुपर्ने अवस्था  भएकाले हामीले अधिवेशनमा हामिले नेतृत्व चयनमात्रै गर्यौँ । अरु विधान अधिवेशनहरु पछि गर्ने भनेर हामीले स्थानीय तहको निर्वाचनमा लाग्यौँ । सरकार गठबन्धनको थियो । गठबन्धनको सरकारका कारणले एउटा सजिलो वातावरण बन्यो र स्थानीय तहमा हामीले गठबन्धन गर्न सफल भयौँ । हामीले गठबन्धनमार्फत् सबै गठबन्धनका दलहरु कहीँ कतैको रिजल्ट बाहेक अरु सबैतिर चित्त बुझाउने वातावरण बनेका कारणले अहिले संघ र प्रदेशको निर्वाचनमा सिट बाँडफँटको विषयमा सकस होला तर हामी गठकन्धन बनाएरै संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ । 

अहिले हामी त्यसैको तयारी गर्दैछौँ । भक्तपुरको स्थानीय तहको निर्वाचनले नेपाली काँग्रेसलाई १ नम्बरको पार्टीको रुपमा स्थापित गर्न हामी सफल भएका छौं । त्यसको लागि म पार्टीभित्रका नेता कार्यकर्ता लगायत सम्पुर्ण सहयोगी साथीहरुलाई पार्टीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । 

भक्तपुरमा नेपाली काँग्रेसको संगठनात्मक अवस्था कस्तो छ ?

हाम्रो भक्तपुरमा काँग्रेसको ११ हजार क्रियाशील सदस्य रहेको छ । हामीले सबै तहमा लगभग सर्वसम्मत ढङ्गले अधिवेशन सम्पन्न गर्यौं । हामीले विधानमा भएअनुसार वडा अधिवेशन पनि सम्पन्न गर्यों । हामीले टोल कार्य समिति पनि गठन गरेका छौं । अहिले यहाँ लगभग ३ सय भन्दा बढी टोल कार्यसमिति गठन भएका छन् । अझै हामीले थप टोल कार्य समिति गठन गर्दै गइरहेका छौं । टोल कार्य समिति वडा समिति, नगर समिति, प्रदेश समिति, क्षेत्रीय समिति हुँदै जिल्ला समितिसम्म आएका छौं ।  

तल्लो तहसम्म कुनै पर्टीको सम्बन्ध छ भने त्यो नेपाली काँग्रेस हो । काँग्रेसको सबै तहमा सबै क्षेत्रमा टोल समितिसम्म सबै राम्रौ सम्बन्ध रहेको छ । संगठनात्मक आधार पनि यही हो । 

प्रदेश तथा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिले केन्द्रीय रुपको गठबन्धन भइरहँदा तपाईँले गठबन्धनलाई सहयोग हुनेगरी केके गृहकार्य गरिरहनु भएको छ ?

गठबन्धन दलहरुबीच छलफल चलाइरहेका छौं । गठबन्धन दलहरुको आ–आफ्नो दाबी रहेको छ होला तर हामीले सहजपुर्ण वातावरणमा सीट बाँडफाँट गरेर गठबन्धनलाई कसिलो र पेचिलो बनाएर निर्वाचनमा लक्ष्य हासिल गर्ने कार्य चलिरहेको छ । 

टिकट बाँडफँटमा भक्तपुरको सम्भावित अवस्था के हुन सक्ला ?

भक्तपुर काँग्रेसको राम्रै आधार क्षेत्र भन्ने दाबी छ । भक्तपुर लोकतन्त्रको उर्वर भुमिको रुपमा रहेको छ। मलाइ लाग्छ यहाँ त्यही उर्वर खालको प्रस्तुति यहाँ रहन्छ । संघमा चाहिँ मजदुर किसान पार्टीलाई एउटा आधारक्षेत्र जस्तै बनाएर रखेको छ । स्थानीय तहको निर्वाचनमा पनि त्यस्तै देखिएको छ । त्यो बाहेक ३ वटा प्रदेश र एउटा संघमा काँग्रेसको राम्रे उपस्थिति रहेको छ । त्यसमा हाम्रो ३ वटै प्रदेशमा र संघमा हाम्रो दाबी छ । त्यसका लागि छलफल चलिरहेको छ र संघबाट आएको निर्णयलाई हामी आत्मसात गछौं । 

यहाँ एउटा नेमकिपा र अर्को गठबन्धनको तर्फबाट तपाईं हाफैँ प्रवल दावेदारको रुपमा हुनुहुन्छ र अर्को उम्मेदवार अहिले सांसद नै हुनुहुन्छ । यसरी हेर्दा यहाँ प्रतिस्पर्धा धेरै हुने देखिन्छ । यो स्थितिमा तपाईंको तर्फबाट व्यक्तिगत रुपमा कसरी तयारी गरिरहनु भएको छ ?

मैले जिल्ला सभापति हुँदा होइन जिल्ला सभापति नहुँदा पनि व्यक्तीगत रुपमा हामीले समर्थन गरेकै ठाउँ हो । पूर्वजहरु हाम्रा अग्रज नेताहरुले समर्थन गरिरहेको ठाँउ हो । हामीले १५ सालमा निर्वाचन जितेको ठाँउ हो यो । 

२०४८ सालमा जित्यौं २०५६ सालको निर्वाचन जित्यौं । २०७० को निर्वाचन पनि जितैका हौं । त्यसकारणले हाम्रो भुमि लोकतन्त्रवादीको उर्वर भूमि हो । अग्रज नेताहरुले लोकतन्त्रको लागि रगत पसिना बगाएको ठाउँ हो । 

त्यसकारण यहाँ हाम्रो राम्रै उपस्थिति रहेको छ । निर्वाचन भनेको प्रविधिक कुरा हो । हिजो हाम्रो पनि केही कमिकमजोरी भए होलान् । त्यसैले विपक्षी दलका कसैले निर्वाचन जिते । राज्य पुर्नसंरचनाको क्षेत्र हेरफेर भइसकेपछि अहिले हाम्रो प्रतिस्पर्धा भनेको एमालेसँग हो । एमालेसँग २०७० सालको निर्वाचनमा पनि प्रतिस्पर्धा गरेकै हो । एमाले तेस्रो पार्टीको रुपमा स्थापित थियो त्यसबेला । प्रविधिक कारणले केही मतान्तर रह्यो होला तर स्थानीय तहको निर्वाचनको डाटा हेर्ने हो भने पनि काँग्रेस अहिले ५ हजार भोटले माथि नै छ । 

र, मेरो कुरा गर्ने हो भने पनि मेरो पनि नेताहरुसँग छलफल जारी छ । र यो पार्टीले मलाई उम्मेदवार बनाउँछ भन्ने मैले आशा लिएको छु । पार्टी सभापति भएको नाताले मै नभइ हुँदैन यो गर्न हुँदैन, त्यो गर्न हुँदैन भन्ने मेरो तर्फबाट हुँदैन । पार्टीको निर्णयलाई म आत्मसात गर्छु । सबै क्षेत्रबाट १ नम्बरमै मेरो नाम रहेको छ र सर्वसम्मतिकै रुपले मेरो उम्मेदवार रहन्छ भन्ने मैले विश्वास लिएको छु । क्षेत्रीय समिति जिल्ला समिति र अरु दलका साथीहरुले पनि सभापतिलाई पहिलो प्राथामिकता दिनुभएको छ । 

तपाईले एउटा संघ र एउटा प्रदेश बाहेक अरु हामी जित्छौं भन्नुभयो । सूर्यविनायक नगरपालिका जुन स्थानीय तहको निर्वाचन हेर्ने हो भने अर्को पार्टीले जितेको छ । अर्को चाँगुनारायण नगरपालिकाको अधिकांश क्षेत्रमा राप्रपाको धेरै भोट छ । अहिले राप्रपा र एमालेको गठबन्धन हुने माहोल देखिएको छ । त्यो स्थितिमा त्यो २ सिट सुरक्षित गर्नलाई कसरी सक्नुहुन्छ

चाँगुनारायणमा ४ वटा वडा हामीले जितेका छौं । एमालेले २ वटा जितेको छ । राप्रपाले २ र नेमकिपाले १ वटा वडा जितेको छ । यो आधारमा पनि हामी बलियो नै छौं । सुर्यविनायकको कुरा गर्ने हो भने मेयर उपमेयर एमालेले जित्यो होला तर १० वटा वडामध्ये ५ वटा वडामा हामीले जित्छौं । ५० प्रतिशत सिधै हामीले जित्छौं । मध्यपुरमा धेरै मतान्तरले हामी जित्छौं । अझ संगठित हुने हो भने ९ वटै वडामा हाम्रो उपस्थिति रहन्छ । 

त्यसबाहेक पनि हाम्रा साथीहरु टोल टोल वडा वडामा पुगिरहनु भएको छ । यो भन्दा अघि हामीले जनजनमा काँग्रेस मनमनमा काँग्रेस भन्ने अभियान चलाएका थियौं । अहिले हामीले चुनावी कार्यक्रमहरु चुनावी प्रशिक्षहरु गरिरहेका छौं । आज मात्रै आज जगर सम्मेलन राखेका छौं । २४ गते जिल्ला भरिका अगुवा नेताहरुको प्रशिक्षण कार्यक्रम रहेको छ । 

त्यसपछि पनि अरुण दल नेविसंघ का कार्यक्रमहरु रहेको छ । यसरी हाम्रा साथीहरुले टोल टोलमा पुगेर सक्रियताका साथ लाग्नुभएको छ । अहिले ४०/४२ जना सदस्यहरु प्रदेश र संघमा आकांक्षीहरु छन् । यसले के देखाउँदछ भने काँग्रसमा कायकर्ता मात्र हैन तेतृत्व तह पनि धेरै छ भन्ने देखाउँछ । 

संगठित रुपमा लागेर गयौं भने हामीले दाबी गरेको ३ वटै प्रदेश र संघमा उपस्थिति रह्यो भने हामीले जित्छौ । 

तपाईले आकांक्षी धेरै छौं भन्नुभयो, आकांक्षीलाई व्यवस्थापन चाँहि कसरी गर्न सकिन्छ ?

१ सय ६५ निर्वाचन क्षेत्र छ । सीट बाँडफाँट गर्दा हामीले १ सय सिट दाबी हामीले गरेका छौं । काँग्रेसको पार्टिभित्र इमान्दार कार्यकर्ताहरु छन् । पार्टीले निर्णय गर्ने बेलामा केही संघर्ष होला,  भएपनि पार्टीले गरेको निर्णयमा कुनै टसमस हुँदैन । अहिले पनि कुनै लोभलाभ नराखी गर्ने पार्टी काँग्रेस हो । 

बजारमा त हल्ला छ, काँग्रेसको सभापति नै ३२ करोडमा बिक्यो भनेर । यो सबै भनेको विपक्षी दलको पराजित मानसिकता मात्र हो । फलानोको नाता पर्छ रे यो पर्छ रे, त्यो पर्छ रे भनेर एमालेका साइडबाट हल्ला फिजाउनुभएको छ । यस्तो हल्ला फिँजाउनु भनेकै उहाँहरुको पराजित मानसिकता हो । नैतिक रुपले नै उहाँहरु पराजित भइसक्नुभयो । 

यहाँ सानातिना पार्टीहरु पनि छन् । अस्तिको निर्वाचनमा पनि ५ सय र ६ सय भोट ल्याउने पार्टीहरु पनि छन् । उहाँहरुलाई पनि हामी जित्छौं भन्ने होला । यो सबैको सोच्ने कुरा हो । 

भक्तपुरमा विगतमा बाहिरको उम्मेदवार पठाएर चुनाव उठाउने स्थिति पनि बनेको थियो । अहिले यस्तो सम्भावना छ कि छैन

हाम्रो पार्टी र एमालेबाट एक÷एक पटक यसरी बाहिरबाट उम्मेदवार आउनुभएको छ । नेकपा एमालेमा एकपटक युवराज कार्की आउनुभएको थियो र पछिल्ले पटक २०७४ सालमा दमन्नाथ ढुंगाना आउनुभएको छ । म यसको चिरफार पनि गर्दैछु । तल्लोतहसम्म कहीँ कतै विपक्ष उम्मेदवारको इच्छा पनि हुँदो रहेछ । कहीँ कतै विभिन्न परिस्थितिले गर्दा पनि यस्तो हुँदो रहेछ । परिस्थितिकै कारणले यस्तो भएको जस्तो लाग्छ । 

कतिपय कुरामा कहीँ कतै कसैले जित्नको लागि गर्ने हुनसक्छ । हाम्रो पार्टीमा मात्र नभएर विपक्षी पार्टिभित्रको पनि महत्वपुर्ण भुमीका रहनेरैछ म हेर्दैछु बुझ्दैछु । एमालेमा हल्ला चलेको रैछ विपक्षी पार्टिको पैसा खाएर छोड्या भन्ने पनि हल्ला रैछ । 

यो किन भइरहेको छ भने विपक्षी दलका नेताहरुले  देशी विदेशी शक्तिहरुबाट पनि सञ्चालित छन् भन्ने मेरो अनुमान छ । यस विषयमा पनि म बुझ्दैछु । अब यस्ता शक्तिले पनि केही गर्न सक्दैन किनभने नेपाली जनताले सबै कुरा बुझिसक्नुभयो । को कहाँबाट सञ्चालित छन् भन्ने थाहा भइसक्यो । यो सञ्चालितहरु धेरै दिन टिक्न पनि सक्दैनन् । 

संघीय चुनाव भन्ने बित्तिकै प्रधानमन्त्री बन्ने कुरा हुन्छ । त्यो एउटा पाटो भयो, त्यो बाहेक चाहिँ तपाईंको यहाँ चुनाव लड्दैगर्दा स्थानीय एजेण्डाहरु केके छन् त ?

स्थानीय एजेण्डा भनेको खानेपानी, कुल कुलेसा, ढल रोजगारी, बिजुली, शिक्षा, स्वास्थ्य यो कहिले पनि नसकिने कुरा रैछ तर सधैं यही कुरा लिएर हामी प्रत्येकपटक यही कुरा लिएर जान्छौं । अब मेरो चाहिँ भनाइ के छ भने आधारभुत आवश्यकता लाई मुल एजेण्डा बनाएर निर्वाचनमा नजाउँ । नयाँ केही एजेण्डा छ भने लिएर जाउँ, सधैँ बाटोको लागि सधैँ पानीकै लागि सधैँ शिक्षाकै लागि सधैँ स्वास्थ्यकै लागि एजेण्डा बनाएर जनतालाई दुख दिएर यो परम्पराको यो निर्वाचन पछि अन्त्य हुन्छ । 

कानुनलाई संशोधन गर्यो भने त्यो पनि संघीय सांसदको काम हुन्छ होला । यी सबै कुराहरुलाई सम्बोधन गरेर अब बाटो बनाइदिन्छु भनेर कसैको भरमा बिजुली ल्याइदिन्छु भन्ने । जबकी सबैको भरभरमा बिजुली पुगिसक्यो । अब यस्ता आधारभुत आवश्यकताका कुराहरु अर्को निर्वाचनमा चाहिँ गर्न नपरोस् तर अहिलेको निर्वाचनमा चाहिँ हामी बाध्य भएरै यही एजेण्डा राख्न बाध्य भएका छौं । 

सबै दलहरुको यही एजेण्डा रहेको छ । भन्ने र बुझाउने शैली फरक होला तर हामी सबैं आधारभुत आवश्यकतामै खुम्चिएका छौं । त्यसकारण यो आधारभुत आवश्यकताको मूल नारा यो पटकलाई बनाउने तर हामी निर्वाचित भएर काँग्रेस सरकारमा गएपछि यो नारा अर्को पटकदेखि हुँदैन । संविधानमै लेखिएको छ । यो नारा भनेको स्थानीय तहको निर्वाचनको लागि हो । 

यहाँका ठुला ठुला नेताहरु मैले बाटो बनाए भनेर फेसबुकमा फेटो हालेर स्थानीय तहले गरेका ठाउँमा मैले गरेको भनेर भन्ने गरेका छन् । सूर्यविनायक बनेपा धुलिखेल सडक विस्तार हुँदैछ । पछि फेरि कहिँ कतै फोटो आउला की एमालेका जनप्रतिनिधिहरुको फोटो खिचेर यो बाटो मैले बनाएको भनेर फेरि फोटो आउन सक्छ । 

त्यसकारण अब आधारभुत आवश्यकता मूल नारा हुन सक्दैन ठुला ठुला विकासका कुरा ठुला आयोजनाको कुरालाई नारा बनाउनुपर्छ । 

संघमा प्रधानमत्रीको लागि काँग्रेसबाट एकजना गगन थापाले दावेदारी प्रस्तुत गर्नुभएको छ । अर्को भनेको अहिलेको सभापतिले स्वतः दाबेदार जस्तो देखिन्छ । युवा प्रधानमन्त्री आउनुपर्छ भन्ने एकातिर बजारको माहोल छ, अर्को पुरानै नेतृत्व आउने सम्भावना । यसबारे तपाईंको धारणा के छ ?

यसबारे मेरा व्यक्तिगत धारणा केही पनि छैन । काँग्रेसको विधान छ काँग्रेसको पहिला संघीय निर्वाचन हुन्छ प्रदेशको निर्वाचन हुन्छ त्यसपछि हामीले संसदीय दलको नेता चुन्नुपर्छ, संसदीय दलको नेता चुनेपछि त्यसमा नेता आउनुहोला अथवा वर्तमान प्रधानमन्त्री आउनुहोला वा ओलीजी आउनुहोला अथवा जितेर म आफैँ पुगौँला । संसदीय निर्वाचनमा जितेपछि स्वतः प्रधानमन्त्रीको दाबेदार हुन पाउँछ । 

त्यसकारण म प्रधानमन्त्रीको दावेदार हुँ भनेर जनतालाई भ्रम छरेर जित्ने प्रक्रिया हो । काँग्रेसको संसदीय परम्परा के छ ? भने संघको निर्वाचन भएपछि  संसदीय दलको निर्वाचन हुन्छ, संसदीय दलको नेता चुनिसकेपछि प्रधानमन्त्री दाबी गर्ने हो । 

यो त प्रक्रियाको कुरा भयो, संसदीय दलको निर्वाचन पनि हुँदै गर्दा भोलि निर्वाचित भएपछि आफ्नो विवेक प्रयोग त गर्न परिहाल्छ, त्यो बेलामा व्याक्तीगत धारणा त हुन्छ नि होइन र ?

व्यक्तिगत धारणा हामी बसेर छलफल गछौँ । काँग्रेसको एउटा परम्परा छ । २०५६ सालको चुनावमा भावी प्रधानमन्त्री किसुनजी भनेर पार्टीलाइ एकतावद्ध बनाएर काँग्रेसले बहुमत ल्याएको इतिहास पनि छ । त्यसकारण इतिहास पनि हेरौं, वर्तमान पनि हेरौं र भविष्य पनि हेरेर काँग्रेसले पार्टीमा व्यापक छलफल गरेर युवाको आवश्यकता परे युवाले गर्नुहोला । परिपक्वको आवश्यकतामा उहाँहरुले गर्नुहोला, महिलाको आवश्यकता परे महिलाले गर्नुहोला, कसरी गर्ने भन्ने त्यहाँ संसदीय छलफल हुन्छ, छलफलमा जे निर्णय हुन्छ त्यही अनुसार हुन्छ । पार्टीले जसलाई छान्छ, त्यही नेता हो त्यही प्रधानमन्त्री हुन्छ ।

एउटा व्यक्तिलाई भावी प्रधानमन्त्रीको रुपमा देखाएर अगाडी बढने काङ्ग्रेसको सम्भावना छ कि छैन ?

आवश्यकता परेपछि केन्द्रीय समिति समेटेर छलफल गनेर्छौं ।अरु कुनै नेताको नाममा त्यो सम्भाव्यता छ, कुनै व्यक्तिमा अवसर छ भने निर्णय गर्नसक्छौं। काङ्ग्रेस लोकप्रेमी र लोकतान्त्रिकमा निर्णय गर्न पछाडी पर्दैन । कसैको अनुहार हेरेर चुनाव जित्ने हैन, विकास गरेर जित्ने हो ।

भक्तपुर स्वतन्त्र उम्मेदवारहरु वा कुनै पार्टीसँग आवद्ध नभएकालाई समेटेर बनेका नयाँ पार्टीहरुको थ्रेटचाहिँ कतिको देख्नुहुन्छ ?

स्वतन्त्र उम्मेदवारमा जितेर आइसकेको र आफ्नै एउटा व्यक्तिगत हो। बहुमत जितेर आएको पार्टीले त यहाँ दिनसकेको छैन भने स्वतन्त्र उम्मेदवारले कसरी स्थायित्व दिन सक्छन् ? भक्तपुरबाट नेपाल मजदूर किसान पार्टीले संघमा एउटा र प्रदेशमा एउटा सीट जित्दै आएको छ । लामो समयदेखि संगठित रहेको सो पार्टीको त संघमा खासै ठूलो भूमिका छैन भने स्वतन्त्रै स्वतन्त्र भए भने के हुन्छ होला ? 

हो, पार्टीहरुमा भएको बेथितिका कारण स्वतन्त्रहरुले जितेका हुन् । चाहे काँग्रेस होस्, माओवादी होस् वा एमाले होस्, जनताले स्वतन्त्रलाई जिताएर पनि पठाउन सक्छौं है भनेर हामीलाई गलत बाटोमा जान नदिन स्वतन्त्रलाई जिताएर पठाएका हुन् । यसको अर्थ पार्टी सर्वेसर्वा होइन, जनता सर्वेसर्वा हो, चाकडीको आधारमा टिकट दिने अवस्था अन्त्य गर्नुपर्छ भन्ने अहिले जनताले सन्देश स्वतन्त्र उम्मेदवारलाई जिताएर दिएका हुन् । 

त्यसैले म नेतृत्व तहलाई भन्छु, योग्य र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुस् । र जनतालाई पनि भन्छु, पार्टीले तपाइँहरुको उत्तरदायित्व सधैँ लिन्छ, स्वतन्त्र उम्मेदवारले लिँदैनन् । काठमाडौं–१ मा रवीन्द्र मिश्रले धेरै भोट पाउनुभयो । तर, त्यसपछि सो क्षेत्रका मतदाताप्रति कति इमान्दार भएर लाग्नुभयो ? रञ्जु दर्शनाले पहिले मेयरमा चुनावप लड्नुभयो, त्यसपछि काठमाडौंको लागि के गर्नुभयो ? 

अहिले प्रकाशमान सिंह त अहिले चिया पसल, अस्पताल, सारा नागरिकको घरदैलोमा पुगेर उहाँहरुको दुःख सुखमा साथ दिइरहनुभएको छ । त्यसैले स्वतन्त्र उम्मेदवार एउटा वाढीको रुपमा, भेलको रुपमा आएका हुन्छन्, त्यो भेलदेखि सचेत हुनुपर्छ, तर्सिनुपर्छ, डराउनुपर्छ । डराउने के को लागि भन्दा हामीले कतै गलत गरेका थियौं, यस्ता काम नगरौं ।

वर्षे भेललाई चाँहि आफ्नो पार्टीमा लगेर उर्वरायुक्त बनाउन के के गर्नुभएको छ त ?

अघिल्लो पटक जनताले स्थायित्वका लागि कम्युनिष्टहरुलाई जिताएका थिए । तर, उनीहरुले स्थायित्व दिन सकेनन् । पार्टीभित्रका नेतामै मानसम्मान नहुने अवस्था सिर्जना भयो । त्यसैले प्रतिपक्षमा बसेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो । अब हामी अहिले गठबन्धसहित चुनावमा गएका छौं । यो गठबन्धनले देशलाई स्थायित्व दिन, विकास निर्माणका कामहरु गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत सक्नुपर्छ । विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्ने भनेको यही हो । यसका लागि यो गठबन्धलाई अत्यधिक मत दिनुपर्छ । गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक स्थानमा जिताउनुपर्छ । अब फेरि काँग्रेसले गल्ती गर्यो भने काँग्रेस पनि इतिहासको पानामा सीमित हुने खतरा छ । 

तर, यसो भन्दैगर्दा स्वतन्त्र रुपमा दिइने उम्मेदवारीलाई हाम्रो पार्टीले स्वागत गर्छ । किनकी यो बैधानिक व्यवस्था हो । तर, यहीँ कसै कसैले स्वतन्त्र उम्मेदवारको हात भाँच्छौं, खुट्टा भाँच्छौं भन्ने कुरा पनि आइरहेको छ । त्यस्तो व्यक्तिलाई म के भन्छु भने तपाइँ ठीक हुनुस्, स्वतन्त्र उम्मेदवारदेखि नतर्सिनुस् । मतदाताको घरमा गएर हात ढोग्नुस्, खुट्टा ढोग्नुस्, हातखुट्टा भाँचेर लोकतन्त्रको खिल्ली नउडाउन म विपक्षी दलको नेताहहरुलाई हार्दिक हार्दिक आग्रह गर्दछु । 

अहिलेको गठबन्धन पाँच बर्षसम्म टिक्छ भन्ने के ग्यारेन्टी छ ?

काङ्ग्रेसलाई जब देशले ठूलो पार्टी बन्यो, हामीले सबै दललाई मिलाएर संविधान बनायौं । माओवादीलाई जंगलबाट ल्याएर एमाले सरहको हैसियत दिएर शान्तिथ प्रक्रियालाई टुंगोमा पुर्यायौं । २०७४ सालमा पनि एउटा निर्वाचन प्रचण्डजीलाई गर्न दिएर अर्को हामीले गर्यौं । 

हामी इमान्दार छौं । विशेषगरी हामी पार्टीभित्र मिल्न सक्दैनौं, तर गठबन्धनका कुराहरुमा हामी इमान्दार छौं । चाहे माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कुरा होस्, चाहे संविधान बनाउने कुरा होस् वा चाहे हामी हार्दैछौं भन्ने चाहा हुृँदाहुँदै पनि सबै पार्टीलाई मिलाएर चुनाव गराउने कुरा होस्, हामीले आफ्नो कर्तव्य इमान्दारिताका साथ पुरा गर्यौं । 

त्यसैले गठबन्धनदेखि तर्सिनु पर्दैन, किनकी गठबन्धन अहिलेको आवश्यकता  हो । केपी ओलीको अधिनायकवाद विरुद्ध लोकतान्त्रिक गणतन्त्रलाई संस्थायत गर्न यो गठबन्धन निर्माण भएको हो । यो गठबन्धन निर्वाचनपछि पनि ५ वर्षसम्म चल्छ । संघीयता, लोकतान्त्रिक गणतन्त्र र प्रदेश एवं स्थानीय तह बलियो भइसकेपछि गठबन्धनको आवश्यकता नपर्न सक्छ । त्योबेलाको आवश्यकताले यसलाई निर्धारण गर्छ । 

त्यसैले अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि मात्रै होइन, हामी छुट्टाछुट्टै रुपमा जाँदै गर्दा समेत निर्वाचन जित्न सक्थ्यौं । तर अहिलेको आवश्यकता नै हो । 

संघीयता बलियो बनाउने कुरा गर्नुभयो, विगत पाँच वर्षमा प्रदेश संरचनाले गरेको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

पाँच वर्षमा संघीय सरकारले प्रदेश सरकारलाई कुनैपनि अधिकार दिएको छैन । अहिले पनि निजामति, प्रहरी लगायत कुनै पनि अधिकार दिइएकै छैन । प्रदेशले काम गर्ने अवस्था नभएको परिस्थितिमा अहिले यसलाई मूल्यांकन गर्न सकिँदैन । नेपालको संविधानलाई स्थायित्व नदिनको लागि यो षड्यन्त्र भएको पनि हुन सक्छ । 

हाम्रो देशमा संघीयता आवश्यक थियो कि थिएन भन्ने बहस संविधान बनाउनुअघि हुनुपथ्र्यों । तर, संघीयता आइसकेपछि यसलाई संस्थागत गर्नुपर्छ । यसलाई हामीले नजिकबाट हेरिरहेका छौं । 

कहिलेकाहीँ जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मिन्छन्, त्यो कसैको चाहना हुँदैन । तर, जन्मिसकेपछि त्यसलाई हुर्काउनु, बढाउनु, पढाउनु आमाबाबुको दायित्व हो । भोलि दुबै छोरा जर्नेल, कर्णेल भएपछि आमाबाबुलाई आनन्द हुन्छ । यसैगरी संघीयताले राम्रो प्रतिफल दिन थालेपछि यसको औचित्य आफैं पुष्टि हुन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...