१० बीमा कम्पनीको बजार खोसेर ३ ओटालाई, कसकाे कहाँ कहाँ खोसियो ?

1 महिना अगाडी

काठमाडौं । बीमा समितिले १० ओटा बीमाको बजार खोसेर ३ ओटा बीमा कम्पनीलाई दिएको छ ।  कृषि तथा पशुपंक्षी बीमा कार्यक्रम सञ्चालनका लागि कार्यक्षेत्र पाएका ती कम्पनीहरुको १/१ ओटा जिल्ला कार्यक्षेत्र खोसेर समितिले ३ ओटा नयाँ निर्जीवन बीमा कम्पनीलाई दिएको हो ।

काठमाडौं र भक्तपुर जिल्ला बाहेकका ७५ जिल्लाहरुमा यस्ताे कार्यक्रम सञ्चालन गर्न १७ निर्जीवन बीमा कम्पनीहरुलाई छुट्टाछुट्टै जिल्ला तोकेर जिम्मेवारी दिइएको थियो । यसमा कम्पनीहरुले ३ देखि ५ जिल्लासम्मकाे जिम्मेवारी पाएका थिए । तर पुराना १७ ओटा कम्पनीलाई मात्रै त्यस्तो जिम्मेवारी दिँदा नयाँ लाइसेन्स पाएका सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले कृषि बीमासम्बन्धी काम गर्न छुट्टै जिल्ला पाएका थिएनन् । काठमाडौं र भक्तपुर जिल्लामा भने सबै बीमा कम्पनीहरुले त्यस्तो बीमालेख बिक्री गर्न पाउने व्यवस्था थियाे जसलाई अहिले पनि यथावत राखिएकाे छ ।  

बीमा समितिको नयाँ निर्देशनसँगै यस सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ जनरल इन्स्योरेन्सले रसुवा, पर्सा र सिराहा तथा अजोड इन्स्योरेन्सलाई गुल्मी, पर्वत, रुकुम पूर्व र रौतहट जिल्लामा यस्तो बीमालेख सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । यसअघि पूर्वी रुकुममा एनएलजी इन्स्योरेन्स, गुल्मीमा प्रभु, नवलपुरमा प्रडेन्सियल, रसुवामा शिखर, पर्सामा हिमालयन, रौतहटमा प्रिमियर, पर्वतमा सिद्धार्थ, सिराहामा लुम्बिनी जनरल, मोरङमा नेको तथा कपिलवस्तुमा नेशनल इन्स्योरेन्सको कार्यक्षेत्र थियो । 

बीमा कम्पनीहरुले कार्यक्षेत्र पाएका ती जिल्लाहरुमा घुम्ती बीमा सञ्चालन गर्ने, कृषि बीमासम्बन्धी जनचेतना जगाउने तथा त्यस्तो बीमाका लागि अभिप्रेरित गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । 

सरकारले ७५ प्रतिशत प्रिमियम अनुदान घोषणा गरेको यो बीमाको बजारहिस्सा अघिल्लो आर्थिक वर्षमा करिब १ अर्ब रुपैंया मात्रै थियो जुन कुल निर्जीवन बीमा व्यवसायको ५ प्रतिशत भन्दा पनि कम बजारहिस्साको हो । 

टेरिफ प्रकृतिको यो बीमालेख बिक्रीमा हुने अस्वस्थ प्रतिस्पर्धा हटाउन समितिले विगतदेखिनै जिल्लागत रुपमा जिम्मेवारी दिने गरेको छ । यद्यपि यसरी जिम्मेवारी दिँदा भौगोलिक सन्तुलन मिलाउन भने समितिले सकेको देखिँदैन । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement