२१ बैंक तथा वित्तीय संस्थाले गुजारे साधारणसभा गर्ने समय, कुन संस्थाले किन गरेनन् ?

1 महिना अगाडी

काठमाडौं । नियामकको निर्देशन र ऐन कानूनहरुको परिपालना राम्रोसँग भएको भए पुस ९ गतेभित्र सबै पब्लिक कम्पनीहरुले साधारणसभा बोलाइसक्नुपथ्र्यो । तर बजारमा सूचीकृत भएका कतिपय कम्पनीहरुले समेत अझै पनि साधारणसभा बोलाउन सकेका छैनन् । त्यसमध्ये ४ ओटा त वाणिज्य बैंक नै छन् भने २ ओटा राष्ट्रिय स्तरकासहित ९ ओटा विकास बैंक र १० ओटा फाइनान्स कम्पनी छन् । 
 

अस्तित्वमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २३ बैंकहरुले साधारणसभा गरिसकेका छन् । बाँकी ४ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, एनसीसी बैंक र सेञ्चुरी बैंकले समयमा साधारणसभा बोलाएका छैनन् । त्यसमध्ये हिमालयन र एनसीसीको लाभांश घोषणा भइसकेको छ भने सेञ्चुरीले भने लाभांश घोषणा समेत गर्न सकेको छैन ।  
 

विकास बैंकमध्ये राष्ट्रिय स्तरका ९ ओटा विकास बैंकले साधारणसभा बोलाउँदा देवः विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले यो ६ महिनाभित्र साधारणसभा गर्न नसक्ने भएका छन् । यी दुवै बैंकले अहिलेसम्म लाभांश घोषणा समेत गर्न सकेका छैनन् । त्यसमध्ये शाइनको पूर्णिमा र भार्गवलाई एक्वायर गरेर राष्ट्रिस्तरको बन्ने प्रक्रियाका कारण साधारणसभा ढिला भएको हो । 
 

त्यस्तै, क्षेत्रीय स्तरका १४ विकास बैंकमध्ये सिन्धु विकास बैंक र कञ्चन डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा बोलाइसकेका छन् । बाँकी १२ बैंकमध्ये नेपाल कम्युनिटी र तिनाउ मिसन भने मर्जरको प्रक्रियामा भएकोले मर्जरअघि साधारणसभा बोलाउने छैनन् । नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त अवस्थामा छ । समस्याग्रस्त अवस्थामै भए पनि उसले आव २०७४/७५ सम्मको साधारणसभा गरिसकेको छ । सामान्य अवस्थामा सञ्चालनमा रहेका सहयोगी विकास बैंक, सालपा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले समयमा साधारणसभा गर्न नसक्ने निश्चित भएको छ । 
 

त्यस्तै, फाइनान्स कम्पनीतर्फ हाल २२ कम्पनी अस्तित्वमा रहेकोमा १२ ओटाले साधारणसभा बोलाइसकेका छन् । बाँकी १० कम्पनीमध्ये नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, मल्टिप्रपोज फाइनान्स, ललितपुर फाइनान्स, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र रिलायन्स फाइनान्सले हालसम्म साधारणसभा गर्न सकेका छैनन् । त्यस्तै, क्रिष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट र नेपाल शेयर मार्केट फाइनान्स  समस्याग्रस्त अवस्थामा छन् । यी कम्पनीहरुको खारेजी वा पुन सञ्चालनबारेको मुद्दा अदालतमा विचाराधिन भएकोले यी संस्थाहरुको साधारणसभा बोलाउन प्रावधिक रुपले मिल्दैन । नेपाल फाइनान्स भने केही समय अघिमात्रै समस्याग्रस्तबाट फुकुवा भएको हो ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement