‘खारिएको अनुभवलाई विकाससँग जोड्न प्रदेशसभामा मेरो दाबेदारी’

2 महिना अगाडी

काठमाडौं । भक्तपुरका स्थानीय राजनीतिकर्मी र समाजसेवी हुन् ओमप्रकाश श्रेष्ठ । झण्डै ४२ वषैदेखि राजनीतिमा लागेका उनी अहिले नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ (ख) को सभापति छन् । राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाउँदै आएका उनी हाल काँग्रेसको तर्फबाट सो क्षेत्रबाट प्रदेश सांसदको उम्मेदवारी दाबी गरिरहेका छन् ।  

सो क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका उनी यतिबेला आफ्नो विगतको योगदान, अनुभव र कार्ययोजनाको पोको बोकेर प्रादेशिक तथा केन्द्रीय नेताहरुकहाँ पुग्ने गरेका छन् । आफ्नो राजनीतिक क्रियाशीलता र योगदानबारे अधिकांश नेतालाई थाहा भएकोल् अहिले भेटघाटको क्रममा प्रदेशसभामा आफूले गर्ने कामको योजना र दाबेदारीको औचित्यबारे बुझाउने प्रयास गर्ने गरेको बताउँछन् ।  

सो क्षेत्रबाट अहिले उम्मेदवारका लागि १० जना सिफारिसमा छन् । तर यो सूचीमा सबैभन्दा सशक्त दाबेदार आफू भएको श्रेष्ठको दाबी छ । प्रदेशसभाका लागि तपाइँले नै टिकट पाउनुपर्ने कारण के छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सिफारिसमा परेका १० जनामध्ये धेरैजना पार्टीमा मभन्दा कम योगदान भएका साथीहरु हुनुहुन्छ । केही मभन्दा धेरै योगदान र अनुभव भएको पनि हुनुहुन्छ, तर उहाँहरुले पटक पटक अवसर पाइसक्नुभएको छ ।’ 

श्रेष्ठ आफैंमा राजनीतिक र सामाजिक सेवाको अनुभवले खारिएका छन् । उमेरले ५५ वर्ष भएका उनी विद्यार्थी कालदेखि नै समाजसेवामा काम गरे । २०३७ सालदेखि नेपाली काँग्रेसमा आवद्ध भएर काम गरेका उनले लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलन र त्यसअघिका विभिन्न आन्दोलनहरुमा सक्रियतापूर्वक काम गरे । २०४२ सालमा भएको आन्दोलनमा पक्राउ परेका उनी राजनीतिक गतिविधि गरेकै आरोपमा झण्डै ७ महिना जेल समेत परे । जेलबाट छुटेपछि पनि उनले भूमिगत रुपमै आफ्नो राजनीतिक गतिविधिलाई निरन्तरता दिएका थिए । 

श्रेष्ठ भन्छन्, ‘मेरो पारिवारिक पृष्ठभूमि नै काँग्रेस हो । मेरो बुवा गोविन्दहरि श्रेष्ठले पनि २००७ सालको जनक्रान्तिमा सहभागी भएर लामो जेल जीवन बिताउनुभयो । बुबाबाट प्रभावित भएर म पनि काँग्रेसमा लागेँ । ४२ वर्षसम्म पार्टीलाई निश्वार्थ रुपमा पार्टी र प्रजातान्त्रिक मूल्य र मान्यताहरु स्थापित गर्न आफ्नो योगदान गरेँ । यो योगदानको मूल्यांकन पार्टीले गरिरहेको छ भन्नेमा विश्वस्त छु ।’  

प्रदेशसभामा निर्वाचित हुनुभयो भने तपाइँको योजना के हो ? श्रेष्ठ भन्छन्, ‘मैले अहिलेसम्म जति योगदान गरेँ स्थानीय स्तरमा गरेँ । स्थानीय स्तरको आवश्यकता र समस्याको बारेमा मलाइ राम्रोसँग थाहा छ । त्यसलाई अनुकुल हुनेगरी कानून बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने नै प्रदेशसभा सदस्यको जिम्मेवारी हो । मैले गर्ने काम पनि त्यही हो । योबीचमा संविधान र कानूनले दिएको अधिकारभित्र रहेर आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको काममा पनि सक्दो योगदान गर्छु ।’  

उनले २०५४ सालको स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिका वडा नं ९ को वडाध्यक्ष समेत भएर काम गरे । त्यसबेला नगरपालिकामा व्यवस्थित शहरीकरणका लागि मास्टरप्लान बनाउने काममा उनले भूमिका निर्वाह गरेका थिए । कार्यकाल सकिएपछि पनि उनले आफ्नो क्षेत्रमा स्वतन्त्र योगदान गर्न छाडेनन् । योबीचमा उनले कमेरेटार जग्गा एकीकरण आयोजनाको संयोजकको भूमिका समेत निर्वाह गरे । टोल विकास समिति, नागरिक समाज तथा अपांगसम्बन्धी संस्थामा रहेर उनले महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांग व्यक्तिको संरक्षण तथा सेवाको क्षेत्रमा समेत योगदान गरेका छन् । उनकै पहलमा भक्तपुरमा अपांग बालबालिकाका लागि विद्यालय समेत सञ्चालन हुँदै आएको छ । 

पछिल्लो ५ वर्ष प्रदेश संरचना विभिन्न समस्यामा गुज्रिएको उनको अनुभव छ । केन्द्रिकृत शासनप्रणालीबाट संघीयतामा प्रवेश गरेको शासन प्रणालीमा केन्द्रीय तहबाट प्रदेशलाई स्रोत साधन र कानूनी हिसाबले सधैँ अवरोध भइरह्यो । संघले आवश्यक कानून नबनाइदिँदा प्रदेशले कानून बनाउन सकेन । यसैले प्रदेश संरचनाप्रति जनता सकारात्मक हुन नसकेको उनको बुझाइ छ । अबको प्रदेशसभाले यो अवस्थालाई चिर्न सक्नुपर्ने भन्दै यसका लागि योगदान गर्ने आफ्नो इच्छा रहेको उनी बताउँछन् । 

उनको विचारमा बलियो र आत्मनिर्भर प्रदेश निर्माण हुनु नै संघीयता बलियो हुनु हो ।  उनी भन्छन्, स्थानीय सरकारको अवधारणा २०५४ सालदेखि आएकोले संविधान निर्माणपछि पहिलो डेलिभरी दिन सक्यो । प्रदेश संरचना भने पूर्ण रुपमा नयाँ भएकोले अलमल देखियो । केन्द्रीय र स्थानीय तहले क्षेत्राधिकार मिचिदिँदा प्रदेशले आफ्नो क्षेत्राधिकार एकीन गर्न सकेन । अबको संसदले यो समस्यालाई समाधान गरेर प्रदेशलाई स्रोत साधनसम्पन्न बनाउन सक्नुपर्छ । त्यसका लागि आफूसँग प्रभावकारी सोच रहेको समेत उनको दाबी छ ।  

तपाइँले टिकट पाउनुभयो भने जित्ने आधार के हो ? प्रश्नमा उनी भन्छन्, ‘मेरो ज्ञान, अनुभव, योगदान र ग्रासरुटसम्ममा मप्रति रहेको सकारात्मक धारणा र विश्वासको आधारमा मेरो जीत सुनिश्चित रहेको ठान्छु, पार्टीले टिकट दिएको अवस्थामा त्यसलाई खेर जान नदिने दृढ विश्वास मसँग छ ।’ 

टिकट नै पाउनुभएन भने चाहिँ के गर्नुहुन्छ भनेर हामीले प्रश्न गर्यौं । एकछिनको मौनतापछि उनले गठबन्धनमा अर्को पार्टीको भाग परेर टिकट पाइएन भने यसलाई स्वीकार गर्ने बताए । 

‘अहिले देशव्यापी रुपमा गठबन्धन हुँदैछ । गठबन्धन हुँदा अवसरहरु सधैँ फेयर नहुन पनि सक्छ । यसलाई हामीले बुझ्नुपर्छ’, श्रेष्ठ भन्छन्, ‘पार्टीले नै उम्मेदवार पाएको अवस्थामा मेरो स्वभाविक दाबेदारी रहन्छ, यसलाई जिल्ला, प्रदेशदेखि केन्द्रीय तहसम्मका नेताहरुले बुझ्नुभएकै छ ।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement