यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

2017-02-19

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी कटाएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ गुणा चुक्ता पुँजी वृद्धिका लागि तोकिदिएको ४ वर्षको अवधि बित्नै लाग्दा समेत कतिपय बैंकहरुले पर्याप्त पुँजी पुर्याउन सकेका छैनन् । ४ वटा वाणिज्य बैंकहरुसमेत मर्जरमा गई पिलय भइसकेका छन् भने हाल कायम रहेका २८ वटा वाणिज्य बैंकमध्ये पनि केही बैंकहरुले योजना समेत स्पष्ट दिन सकिरहेका छैनन् । 
हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी कटाएका छन् । अन्यको पुँजी ६ अर्बभन्दा कम रहेको छ । यहाँ बैंकहरु र तिनको सम्भावित योजनालाई प्रस्तुत गरिएको छ । 
ग्लोबल आईएमई बैंक
यस बैंकको चुक्ता पुँजी पुग्नका लागि ८४ करोड हाराहारीमा बाँकी छ । बैंकले रिलायबल डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ । रिलायबल मर्जर सफल भएमा सो बैंकमा ७८ अर्ब पुँजी तत्काल थपिने हुँदा चालु आवको अन्त्य अगावै ८ अर्ब पुँजी पुग्ने हुन्छ, रिलायबलसँग मर्ज हुन नसकेमा चालु आवको नाफाबाट आवश्यक रकम बराबरको बोनस शेयर प्रदान गरी पुँजी पुर्याउने देखिन्छ । 


नेपाल बैंक
नेपाल बैंकको पुँजी पुग्नका लागि १ अर्ब ५० करोड बाँकी रहेको छ । सो बैंकले चालु आवको ६ महिनामा नै १ अर्ब ८९ करोड कमाइसकेकाले सोही नाफाबाट बोनस प्रदान गरी पुँजी पुर्याउने सम्भावना रहेको छ । 


हिमालयन बैंक
हिमालयनले पनि १ अर्ब ५१ करोड रुपैयाँ पुँजी पुर्याउन बाँकी छ । सो बैंकले अन्य विकल्पलाई अघि नसारेकाले सम्भवतः सो बैंकले चालु आवको नाफाबाटै बोनस प्रदान गरी पुँजी पुर्याउने सम्भावना रहेको देखिन्छ । बैंकले चालु आवको ६ महिनामै १ अर्ब बढी नाफा कमाइसकेको छ । 


नबिल बैंक
१ अर्ब ८१ करोड पुँजी पुर्याउन बाँकी रहेको यस बैंकले पनि चालु आवको नाफाबाटै बोनस प्रदान गरी तोकिएको पुँजी पुर्याउने देखिन्छ । यस बैंकले चालु आवको ६ महिनामै १ अर्ब ७० करोड बढी कमाइसकेको छ । 


प्रभु बैंक
प्रभु बैंकले २ अर्ब ११ करोड पुँजी पुर्याउन बाँकी छ । सो बैंकको हालको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेकोमा बैंकले ४० प्रतिशत हकप्रद जारी गर्नका लागि साधारणसभाबाट प्रस्ताव पारित गरिसकेको छ । यसो गर्दा सो बैंकको पुँजीमा २ अर्ब ३५ करोड २५ लाख ६० हजार रुपैयाँ थपिई ८ अर्ब २३ करोड पुग्ने देखिन्छ । 


एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकलाई तोकिएको पुँजी पुर्याउनका लागि २ अर्ब १८ करोड रुपैयाँ चाहिन्छ । सो बैंकको १५ प्रतिशत हकप्रद हाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । सो हकप्रद निष्काशन हुँदा बैंकको ८७ करोड २९ लाख ४७ हजार ५ सय थपिने हुन्छ । यसो गर्दा बैंकको पुँजी ६ अर्ब ७० करोड हाराहारीमा पुग्दछ । बाँकी १ अर्ब ३० करोड रुपैयाँ बैंकले चालु आवको नाफाबाट बोनस दिएर पुर्याउने सम्भावना देखिन्छ । बैंकले चालु आवको ६ महिनामा ७२ करोड नाफा कमाइसकेकाले प्रक्षेपित नाफाबाट पुँजी पुग्न सक्ने आधार देखिन्छ । 


बैंक अफ काठमाण्डू लुम्बिनी
बैंक अफ काठमाण्डू लुम्बिनीले २ अर्ब ३७ करोड रुपैयाँ पुँजी पुर्याउन बाँकी छ । सो बैंकले ६२ लाख कित्ता शेयर एफपीओका रुपमा निष्काशन गर्न लागेको छ । यसो गर्दा ६२ करोड रुपैयाँ बढ्छ र बाँकी १ अर्ब ८० करोड रुपैयाँलाइ बैंकले एफपीओको प्रिमियम तथा चालु आवको नाफाबाट बोनस प्रदान गरी पुर्याउने सम्भावना देखिन्छ । सो बैंकले चैत ३ गतेलाई साधारणसभा बोलाएको छ । 


सिटिजन्स बैंक
सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रदको प्रस्ताव धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । सो बैंकको हालको चुक्ता पुँजी ५ अर्ब ५३ करोड रहेको र हकप्रदबाट बैंकले १ अर्ब ३८ करोड ४३ लाख ३८ हजार पुँजी बढाउँछ । हकप्रद पछि बैंकको पुँजी ६ अर्ब ९२ करोड पुग्ने र बाँकी १ अर्ब ८ करोड पुँजी चालु आवको मुनाफाबाट बोनस प्रदान गरी पुर्याउने सम्भावना रहेको देखिन्छ । सो बैंकले चालु आवको ६ महिनामा ६३ करोड १६ लाख नाफा कमाएको छ । 


एनएमबी बैंक
एनएमबी बैंकको हालको चुक्ता पुँजी ५ अर्ब ४३ करोड रहेको छ । बैंकले यसमा १९ प्रतिशतको बोनस रकम थप्दा पुँजी ६ अर्ब ४६ करोड बढी हुने देखिन्छ । बैंकले एफपीओ निष्काशनको प्रस्ताव समेत पारित गरेकाले बैंकले एफपीओबाट केही पुँजी जुटाउने र बाँकी रकमलाई एफपीओको प्रिमियम तथा चालु आवको नाफाबाट बोनस प्रदान गर्ने सम्भावना छ । बैंकको हाल साधारण शेयरधनीको अनुपात ३९.९९ रहेको र सो मात्रा ४९ प्रतिशत बनाउने भएकाले साधारण सदस्यको ९ प्रतिशत शेयर बढ्ने गरी बैंकले एफपीओ जारी गर्नेछ । बैंकले ९० लाख कित्ता बढीको शेयर निष्काशन गरेमा ७ अर्ब ४० करोडको हाराहारीमा पुँजी पुग्दछ । 


सनराइज बैंक
सनराइज बैंकले केही समयअघि एनआईडिसी क्यापिटललाई मर्ज गरिसकेकाले सो संस्थाको २३ करोड ३६ लाख ५४ हजार शेयर बैंकमा थपिइसकेको छ भने गत आवको मुनाफाबाट ३३.३३ प्रतिशत बोनस दिने निर्णय गरेकाले १ अर्ब ८१ करोड रुपैयाँ बढी बैंकको पुँजीमा थपिन्छ । यसमाथि बैंकले १ अर्ब ६३ करोड बराबरको हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन गरिसकेकाले सो बैंकको चुक्ता पुँजी ८ अर्ब बढी पुग्दछ । चालु आवको दोस्रो त्रैमाससम्ममा सनराइज बैंकले ६० करोड ९७ लाख तथा एनआईडिसी क्यापिटलले ५ करोड ४५ लाख नाफा गरिसकेका छन् । 


सानिमा बैंक
सानिमा बैंकको चुक्ता पुँजी हाल ५ अर्ब ३० करोड बढी छ । बैंकले केही समयअघि सर्लाहीको १ जिल्लो बाग्मती डेभलपमेन्ट बैंकलाई आफूमा गाभेको थियो । बैंकले गत आवको नाफाबाट १५ प्रतिशत शेयर बोनसका रुपमा प्रदान गर्ने निर्णय गरेको छ । यसमाथि बैंकले १ अर्ब ५९ करोड हकप्रद निष्काशनका लागि साधारणसभाबाट प्रस्ताव पारित गरिसकेको छ । यसबाट बैंकको पुँजी ७ अर्ब बढी पुग्ने हुन्छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ६२ करोड बढी कमाइसकेकाले बैंकले चालु आवको नाफाबाट केही बोनस दिने पनि सम्भावना रहेको छ ।


सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको भर्खरै सम्पन्न साधारणसभाले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सो हकप्रद शेयर निष्काशन गर्दा बैंकको पुँजी ६ अर्ब ८० करोड पुग्ने र बाँकी रकम चालु आवको नाफाबाट बोनस प्रदान गरी पुर्याइने सम्भावना सो बैंकको रहेको छ । 


प्राइम बैंक
प्राइम बैंकलाई चुक्ता पुँजी पुर्याउन ३ अर्ब ५ करोड थप्नु पर्ने हुन्छ । सो बैंकले ८५ करोड बढीको बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने विराटनगरको विराटलक्ष्मी तथा काभ्रेको कन्ट्री डेभलपमेन्ट बैंकलाई आफूमा गाभ्ने भएको छ । यी मर्जरपछि बैंकको पुँजी ६ अर्ब ३२ करोड पुग्ने र बाँकी १ अर्ब ६८ करोड बढी रकमका लागि थप प्राप्ति तथा मर्जरको प्रयास गर्ने र नभएमा चालु आवको नाफाबाट पुँजी पुर्याउने योजनामा बैंक रहेको जनाइएको छ । प्राइम बैंकले मात्रै चालु आवको दोस्रो त्रैमाससम्ममा ५५ करोड ९७ लाख नाफा कमाएको छ । 


एनसीसी बैंक
४ वटा विकास बैंकलाई एकसाथ आफूमा गाभेको एनसीसी बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड बढी पुगेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा जम्मा ७ करोड नाफा कमाएको सो बैंकले पुँजी वृद्धिको थप स्पष्ट योजनासमेत ल्याउन सकेको छैन । यद्यपि बैंकले मर्जरबाट प्रशस्त रकम जगेडामा जुटाएकाले केही रकमको हकप्रद शेयर जारी गरी जगेडा कोषको रकमबाट बोनस दिई तोकिएको पुँजी पुर्याउन सक्ने सम्भावना छ । 


माछापुच्छ«े बैंक
माछापुच्छ«े बैंकको चुक्ता पुँजी ४ अर्ब ६६ करोड रहेको छ । सो बैंकले १ अर्ब ९३ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रदपछि सो बैंकको पुँजी ६ अर्ब ६० करोड पुग्दछ । यसबाहेक बैंकले केही साना बैंकहरुलाई प्राप्ति तथा मर्जरका लागि पहल गरिरहेको जनाएको छ । बैंकले बोनस प्रदान गर्ने र चालु आवको मुनाफाबाट बोनस प्रदान गरी ८ अर्ब पुँजी पुर्याउने प्रयास गरिरहेको छ ।


एभरेष्ट बैंक
अघिल्लो त्रैमाससम्ममा ३ अर्बभन्दा कम पुँजी रहेको एभरेष्ट बैंकले ७० प्रतिशत बोनस दिई चुक्ता पुँजी ४ अर्ब ६० करोड बढी पुर्याएको छ । बैंकले ३ः१ हकप्रद शेयरसमेत प्रदान गर्ने भएको छ । यसो गर्दा बैंकको पुँजी ६ अर्ब १३ करोड रुपैयाँ पुग्ने देखिन्छ । सो बैंकले अन्य साना बैंकहरुलाई प्राप्ति गर्नेतिर उति ध्यान नदिएकाले बैंकको जगेडामा संकलित रकमबाट केही तथा चालु आवको मुनाफाबाट बोनस प्रदान गरी आवश्यक रकम पुर्याउने सम्भावना देखिन्छ । 


सिभिल बैंक
चालु आवको दोस्रो त्रैमासमा १६ करोड मात्रै नाफा कमाएको सिभिल बैंकले पुँजीवृद्धिको स्पष्ट योजना तय गर्न सकेको देखिँदैन । सो बैंकलाई तोकिएको चुक्ता पुँजी पुर्याउन ३ अर्ब ४१ करोडको जरुरत पर्दछ । सो बैंकले कुनै उपयुक्त संस्थासँग मर्जरमा जाने वा ३ अर्ब बराबरको हकप्रद प्रदान गरी आफैँ पुँजी पुर्याउनतिर लाग्ने सम्भावना देखिन्छ । 


मेगा बैंक
मेगा बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउनका लागि टुरिज्म डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको छ । टुरिज्म डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी ९१ करोड रहेको छ । सो बैंकको १ः१ हकप्रद धितोपत्र बोर्डको पाइपलाइनमा छ । अघिल्लो आवको नाफाबाट दिइएको बोनस र हकप्रदपश्चात् टुरिज्मको चुक्ता पुँजी २ अर्ब हाराहारीमा पुग्दछ । मेगा बैंकले पनि ६५ प्रतिशत अर्थात् २ अर्ब ९५ करोड बराबरको हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । यदि मेगाले हकप्रद प्रदान गरी टुरिज्मलाई मर्ज गरे सो बैंकको चुक्ता पुँजी आवको समाप्ति हुनुअगावै ८ अर्ब नाघ्ने देखिन्छ । 


एनबी बैंक
हाल चुक्ता पुँजी ४ अर्ब १ करोड रहेको एनबी बैंकले ८० प्रतिशत अर्थात् ३ अर्ब २० करोड बराबरको हकप्रद शेयर जारी गर्नका लागि प्रस्ताव पारित गरी धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बोर्डको पाइपलाइनमा रहेको सो हकप्रद निष्काशन गरिएमा बैंकको चुक्ता पुँजी ७ अर्ब २० करोडभन्दा बढी पुग्दछ । बाँकी ८० करोड रकम चालु आवको मुनाफाबाट बोनस प्रदान गरी पुर्याउने सम्भावना सो बैंकको रहेको बताइएको छ । सो बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ५४ करोड नाफा गरेको छ । 


नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रहेकोमा केही समयअघि सो बैंकले एफपीओ जारी गरी केही रकम संकलन गरेको थियो भने बैंकले २८ प्रतिशत बोनसबाट १ अर्ब ८ करोड तथा ४० प्रतिशत हकप्रदबाट १ अर्ब ९१ करोड रुपैयाँ संकलन गर्ने देखिन्छ । यी सबै गर्दा बैंकको पूँजी ७ अर्ब हाराहारीमा पुग्ने हुन्छ । आवश्यक बाँकी रकमलाई एफपीओको प्रिमियम तथा चालु आवको नाफाबाट बोनस प्रदान गरी मिलाइने सम्भावना सो बैंकको रहेको देखिन्छ । सो बैंकको साधारणसभाबाट १०ः४ को हकप्रद प्रस्ताव पारित भइसकेको छ । 


स्ट्याण्डर्ड चार्टर्ड बैंक
बेलायती कम्पनीको ७५ प्रतिशत लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ३ अर्ब ७४ करोड रहेको छ । बैंकले करिब २५ लाख कित्ता एफपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेकाले सो बैंकले करिब २५ करोड पुँजी सो एफपीओबाट प्राप्त गर्दछ भने ३ अर्ब भन्दा बढी रकम अतिरिक्त प्रिमियमबाट प्राप्त गर्दछ । सोही प्रिमियम तथा चालु आवको नाफाबाट शतप्रतिशत बोनस प्रदान गरी बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउने सम्भावना रहेको देखिन्छ । सो बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ७४ करोड रुपैयाँ खुद नाफा गरेको छ । 


सेञ्चुरी बैंक
३ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको सेञ्चुरी बैंकको निश्चित क्यापिटल प्लान रहेको देखिँदैन । बैंकले सकेसम्म कुनै वाणिज्य बैंकसँग मर्ज हुन वा कुनै विकास बैंकलाई लिन चाहिरहेको देखिन्छ । त्यसो हुन नसके बैंकले शत प्रतिशथ हकप्रद प्रदान गरी चालु आवको नाफाबाट बोनस प्रदान गरी चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ । 


लक्ष्मी बैंक
हाल ३ अर्ब बढी चुक्ता पुँजी रहेको लक्ष्मी बैंकको शतप्रतिशत हकप्रदको प्रस्ताव धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । हकप्रदबाट ३ अर्ब बढी रकम जम्मा भएमा सो बैंकको पुँजी सवा ६ अर्ब बढी हुन्छ । यसो गर्दा आवश्यक पुँजीका लागि बैंकलाई अझै १ अर्ब ७० करोड आवश्यक पर्दछ । सो बैंकले केही समयअघि प्रोफेसनल दियालो विकास बैंकलाई आफूमा गाभ्ने निर्णय गरेकाले सो विकास बैंकको २४ करोड पुँजी लक्ष्मीमा बढ्ने देखिन्छ । यसो गर्दा पुँजी साढे ६ अर्ब पुग्दछ । चुक्ता पुँजी पुर्याउनका लागि बैंकले अझै केही संस्थासँग मर्ज गर्नेपर्ने हुन्छ । 


कुमारी बैंक
हालसम्म ३ अर्बसमेत पुँजी पुर्याउन नसकेको कुमारी बैंकले ५ महिनामा पुँजी करिब तेब्बर गराउने योजना तय गरेको छ । बैंकको ५० प्रतिशत हकप्रद शेयरको प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको छ । यसो गर्दा बैंकको जुँजी करिब ४ अर्ब हुन्छ । बैंकले ६७ करोड बढी पुँजीको काष्ठमण्डप डेभलपमेन्ट बैंक, १४ करोडको महाकाली विकास बैंक, ३४ करोडको पश्चिमाञ्चल फाइनान्स तथा ६ करोडको काँक्रेविहार विकास बैंकलाई गाभ्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । यीमध्ये काष्ठमण्डपले २५ प्रतिशत हकप्रद दिने निर्णय गरिसकेको छ भने महाकाली विकास बैंकको एफपीओ धितोपत्र बोर्डको पाइपलाइनमा छ । यी सबै गर्दा महाकालीको एफपीओबाहेक नै चुक्ता पुँजी ५ अर्ब ४५ करोड हुन्छ । त्यसमा बैंकले महाकालीको एफपीओ जारी भएमा त्यसको अतिरिक्त आम्दानी गर्दछ । बैंकले अन्य साना बैंकहरुसँगको मर्जरको सम्भावनालाई पनि यथावत राखेको बताएको छ । अन्यसँग मर्ज हुन नसकेमा भने बैंकले एफपीओबाट हुने अतिरिक्त लाभ तथा जगेडा कोषमा भएको रकमलाई पुँजीकरण गर्नुपर्ने हुन्छ । 


जनता बैंक
देशका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम चुक्ता पुँजी रहेको जनता बैंकले आक्रामक ढङ्गबाट पुँजी वृद्धि गर्ने भएको छ । सो बैंकको हालको चुक्ता पुँजी २ अर्ब ३० करोड रहेको छ । बैंकले १२ प्रतिशत अर्थात् २४ करोडको बोनस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै बैंकले भरतपुर, चितवनको १ अर्ब ३५ करोडको त्रिवेणी विकास बैंकसँग मर्जरमा जाने निर्णय गरी दुवै संस्थाको साधारणसभा बाट प्रस्ताव पारित समेत भइसकेको छ । यसो गर्दा बैंकको चुक्ता पुँजी ३ अर्ब ८० करोड बढी पुग्ने देखिन्छ । त्यसमा बैंकले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने जनाएको छ । त्यसो गर्दा पनि २ अर्ब बढी रकम अपुग हुने भएकाले बैंकले कुनै साना वा ठुला संस्थाहरुलाई मर्जर गर्ने वा मर्जरमा जानु पर्ने हुन्छ । 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement